Logo

संचारकर्मी मिश्रको चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक(भिडियोसहित)



फागुन ९, काठमाण्डौ । नेपाल टेलिभिजनमा वरिष्ठ क्यामेरापर्सनका रूपमा कार्यरत सञ्चारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको ‘धुलो’ फिल्मको ट्रेलर सार्वजानिक गरिएको छ ।

राजधानीमा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजानिक गरिएको हो । फिल्म १६ फागुनमा प्रदर्शन हुदैछ ।राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मजदुरको वास्तविक जीवनशैली, सपना, सङ्घर्ष र अवस्थाको विषयमा निर्माण गरिएको ‘धुलो’ मा बुद्धि तामाङ,अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बाल कलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवालाई विशेष भूमिकामा प्रस्तुत गरिएको छ । चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक मिश्रले ‘धुलो’ वास्तविक जिन्दगी र घटनाहरूबाट प्रेरित भएको बताए ।

उनले लामो समयको सञ्चार र फिल्म कर्मको अनुभव ‘धुलो’ मा लगाएको बताए । अभिनेता बुद्धि तामाङले ‘धुलो’ काल्पनिक नभई यथार्थ जीवनका कथामा बुनिएको बताए भने अभिनेत्री सृजना सुब्बाले दर्शकले यो फिल्ममा आफूलाई महसुस गर्न पाउने दाबी गरिन् । निर्माता सङ्घका अध्यक्ष अधिकारीले आफूले केही समयअघिनै ‘धुलो’ हेरिसकेको बताउँदै फिल्म राम्रो विषयवस्तुमा निर्माण भएकाले सफलता प्राप्त गर्नेमा विश्वस्त रहेको सुनाए ।

निर्देशक मिश्र ‘धुलो’ अत्यन्तै ममस्पर्शी कथामा निर्माण गरिएकाले सबै नेपालीले हेर्नुपर्ने बताउछन् । भन्छन्, ‘मैले कन्टेन्टमा फिल्म बनाएको छु । त्यसकारण हरेक नेपालीले मन पराउनुहुन्छ भन्ने बिश्वास छ ।’ फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

उनले यो फिल्मले कलात्मक पाटोलाई सजीव ढङ्गले प्रस्तुत गरेकाले सबैलाई एकपट हेर्न अनुरोध गरे । कार्यक्रममा चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, ‘धुलो’का गीतकार केशव मिश्र, गायक युवराज चौलागाई,प्रस्तुतकर्ता दीपा धरेल, लेखक सुवाससिंह बस्न्यात र प्रोजेक्ट एडभाइजर सिके वाग्लेले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुयाँल छन् ।

केशव मिश्र र दीपक समीरको गीत रहेको ‘धुलो’ रविन आचार्यले खिचेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतमा शङ्कर थापा र जुगल डङ्गोलको सङ्गीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।



प्रतिक्रिया दिनुहोस्