Logo

बन्दीपुर पर्यटन विकास समितिको अध्यक्षमा प्रधान



दमौली, १० फागुन । बन्दीपुर पर्यटन विकास समितिको अध्यक्षमा किसान प्रधान निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न नयाँ कार्यसमितिको निर्वाचनले समितिको उपाध्यक्ष कर्णबहादुर श्रेष्ठ, सचिव वसन्त पौडेल, कोषाध्यक्ष फूलमति थापा र सदस्यमा सुरज श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, हरिशचन्द्र भट्टराई, राजाराम प्रजापति, हितमान गुरुङ, अशोक गुरुङ र तेजेन्द्र बानियाँ चयन गरेको छ ।

दुई साताअघि समितिको अधिवेशन भए पनि कार्यसमिति चयन हुन सकेको थिएन । सर्वसम्मत रुपमा पदाधिकारी र सदस्य टुङ्गो लागेको हो । नवनिर्वाचित अध्यक्ष प्रधानले बन्दीपुरलाई देश तथा विदेशमा चिनाउने, पूर्वाधार निर्माणमा जोड दिने प्रतिबद्धता जनाए । उनले गाउँपालिकाभित्रका पर्यटकीय गन्तव्यलाई पर्यटनमैत्री बनाउने वातावरण सिर्जना गर्न सरोकारवालासँग सहकार्य गर्ने बताए ।

बन्दीपुर गाउँपालिकाले बन्दीपुरको विकासका लागि बीस वर्षे गुरुयोजना बनाएर अगाडि बढेको छ । गाउँपालिकाले सारेको योजनामा समितिले साथ दिने नवनिर्वाचित सचिव पौडेलले जानकारी दिए ।

सात महिनाको आम्दानी रु नौ करोड

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको सात महिनामा करिब रु नौ करोड आन्तरिक आम्दानी गरेको छ । आर्थिक वर्ष ०७६-७७ को साउनदेखि माघ मसान्तसम्म कार्यालयले रु आठ करोड ९३ लाख ४५ हजार ४५० आन्तरिक आम्दानी गरेको हो ।

विभिन्न कर, घरजग्गा रजिष्ट्रेशन, दस्तुरलगायतबाट सात महिनाको अवधिमा उक्त आम्दानी भएको राजश्व शाखाका अधिकृत कृष्णराज घिमिरेले जानकारी दिए । नगरपालिकाले यस अवधिमा सम्पत्ति करबाट रु ६६ लाख तीन हजार ९१८, घरबहाल करबाट रु २८ लाख ६२ हजार तीन, मालपोत करबाट रु २७ लाख ७९ हजार ५६४, व्यवसाय करबाट रु १० लाख ८० हजार २०१, मनोरञ्जन करबाट रु ४३ हजार २६७, स्थानीय-वातावरण शुल्कबाट रु ९९ लाख २२ हजार ५३०, प्राकृतिक स्रोतसाधन उपयोगबाट रु तीन करोड १६ लाख छ हजार ४२५ आम्दानी भएको छ ।

त्यस्तै सवारी पार्किङबाट रु ११ लाख ८३ हजार १७५, सरसफाइबाट रु ३८ लाख २८ हजार ८५०, बस्ती विकास÷प्लटिङ÷प्राविधिक परामर्शबाट रु चार लाख ५० हजार ४४०, आय प्रमाणितबाट रु तीन लाख ११ हजार १४५, दर्ता र नवीकरणबाट रु नौ लाख ३६ हजार ५०५, घरनक्सा पासबाट रु ९४ लाख १४ हजार ६४, सिफारिसबाट रु ६९ लाख ८३ हजार ३१, नाता प्रमाणितबाट रु एक लाख ५५ हजार ७५ आम्दानी भएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी घरभाडाबाट रु ९४ लाख ७९ हजार ८८७, मेशिनरी उपरकरण भाडाबाट रु तीन लाख ७० हजार ४००, विविध फारमबाट रु सात लाख ९२ हजार २१९ र अन्य विविधबाट रु ७१ हजार ५१८ आन्तरिक आम्दानी भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा कूल रु १४ करोड ८५ लाख आन्तरिक आय गर्ने लक्ष्य राखेको थियो । केही दिन अगाडी सम्पन्न नगरपालिकाको ३२ औँ नगरसभाले आन्तरिक आयमा रु एक करोड २१ लाख ९६ हजार थप गरी आन्तरिक आम्दानी कूल रु १६ करोड छ लाख ९६ हजार संशोधन गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

सात महिनाको प्रगतिलाई दृष्टिगत गरी आन्तरिक स्रोततर्फ विभिन्न शीर्षकमा साविकको आय अनुमानमा थप आय हुने देखिएकाले आन्तरिक आम्दानी संशोधन गरिएको उनले जानकारी दिए । नगरपालिकाले आन्तरिक आयमा मालपोत करतर्फ रु ५० लाख, घरबहाल करतर्फ रु आठ लाख, सवारी पार्किङतर्फ रु पाँच लाख ९० हजार, सरसफाईतर्फ रु १६ लाख, स्थानीय वातावरण शुल्कतर्फ रु एक करोड, सिफारिसतर्फ रु २५ लाख, घरभाडातर्फ रु दश लाख ७५ हजार साविकको भन्दा थप आय हुने अनुमान गरेको छ । केही शीर्षकमा भने आन्तरिक आय घट्ने अनुमान नगरपालिकाको छ । सम्पत्ति करतर्फ रु ८० लाख, विविध फारमतर्फ रु नौ लाख, अन्य विविधतर्फ रु तीन लाख ८८ हजार, दण्ड जरिवानातर्फ रु आठ लाख बजेट घट्ने अनुमान गरिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्