Logo

एमसीसीबारे ओली, प्रचण्ड, खनाल र नेपालबीच किन मत बाझियो



काठमाडौं, १० फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र अमेरिकी सहयोग सम्बन्धि मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विवाद उत्कर्षमा पुगेको छ । संसदबाट पारित गर्ने भनिएको एमसीसी पारित नहुनुमा नेकपाभित्रको विवाद मुख्य कारण हो ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली एमसीसी निशर्त र विना संशोधन पारित गर्नुपर्ने पक्षमा छन् । यसलाई उनले आफ्नो राजनीतिक प्रतिष्ठाको विषय बनाएका छन् । एमसीसी पारित गर्न पूर्व सभामुख कृष्णबहादुर महराले आनाकानी गरेकोबारे ओलीले खुलाइसकेका छन् ।

एमसीसीबारे अर्का अध्यक्ष पुष्पकमल दाहालको फरक धारणा छ । उनी संशोधनसहित एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा छन् । आज गृहजिल्ला चितवन पुगेर एमसीसी पारित हुने दोहोर्याएका छन् ।

यसअघि एमसीसीबारे नेकपा सचिवालय र स्थायी समितिले समेत टुंगो लगाउन सकेन । केन्द्रीय समिति बैठकमा यसको चर्को विरोध भएको थियो । त्यसपछि नेकपाले झलनाथ खनाको संयोजकत्वमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहने गरी कार्यदल नै बनायो । तर, खनाल कार्यदलले एमसीसी विना संशोधन यथास्थितिमा पारित गर्न नहुने सुझाव दिएको छ । खनाल र रावल दुवै एमसीसी अमेरिकाको सैन्य रणनीति अन्र्तगत भएकाले पारित गर्न नहुने पक्षमा छन् ।

अर्का वरिष्ठ नेता माधवकुमार नेपाल एमसीसीबारे अमेरिकाको स्पष्ट धारणा आउनुपर्ने पक्षमा छन् । उनी पनि यथास्थितिमा एमसीसी पारित गर्न नहुने पक्षमा छन् ।
नेकपाभित्रका नेताहरुको मत बाझिएपछि एमसीसीका कारण विवाद चर्केको छ । विगतमा पनि कम्युनिष्ट पार्टीहरु विदेशीलाई हेर्ने दृष्टिकोण र विदेशीसँगको सन्धी सम्झौताका कारण निकै विवाद गरिहन्थे । यतिसम्मकी महाकाली सन्धी तत्कालिन नेकपा एमालेको विभाजनको कारण बनेको थियो । कम्युनिष्टहरु आन्तरिक राजनीतिक मुद्दामा भन्दा बाह्य सम्बन्धको विषयमा बढी विवाद गर्छन् । यसपटकको विवाद चर्कंदा नेकपाको आन्तरिक राजनीतिक संकट गहिरिदै गएको छ ।
एमसीसीको मुद्दालाई लिएर नेकपाभित्र नेताहरुले एकले अर्कोलाई कमजोर पार्ने अस्त्रका रुपमा लिन थालेका छन् । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एमसीसीकै मुद्दामार्फत् प्रहार बढेको छ । यसले उनलाई निकै अप्ठ्यारोमा पारिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्