Logo

विजय प्रकाश मिश्र भन्छन् : यो प्रकरणमा प्रधानमन्त्रीमाथि पनि छानबिन हुनुपर्छ (भिडियोसहित)



काठमाडौं, १० फागुन । पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन डील गरेको अडियो सार्वजनिक गर्ने स्वीस कम्पनीका नेपाली प्रतिनिधि भनिने विजयप्रकाश मिश्रले यो प्रकरणमा मुख्य दोषी को को हुन भनेरसमेत खुलासा गरेका छन् ।

आज राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको लागि सरकारले गठन गरेको तीन सदस्यीय कार्यदल जसमा तीन जना मन्त्री र तीन जना सचिव रहेको बताउँदै उनले कार्यदलका सदस्यहरुले समेत यसबारेमा छिटो फाईल अघि बढाउन निर्देशन दिएको मिश्रले खुलासा गरे । उनकाअनुसार नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीपनि यो प्रकरणमा संलग्न छन् । उनले समेत छिटो फाईल ल्याउन निर्देशन दिएको मिश्रले खुलासा गरे ।

यो प्रकरणमा आफ्नो विजय प्राप्त भएको उनले दाबी गरे । उनले भने,‘यहाँ ७० करोडको मात्रै भ्रष्टाचारको कुरा थिएन, करिब ५ अर्ब भ्रष्टाचार हुनबाट मैले देशलाई जोगाएको छु । यो प्रकरणमा अख्तियारले छानबिन गर्नुपर्छ ।’

अडियो बाहिरिएपछि गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको विषयलाई उनले नैतिक साहस देखाएको चित्रण गरे । उनले भने,‘म प्रशंसा गर्छु । तर, यो प्रकरणमा प्रधानमन्त्रीमाथि पनि छानबिन हुनुपर्छ भन्ने मेरो माग छ ।’



प्रतिक्रिया दिनुहोस्