Logo

बस्तीमा डोजर लगाएर सार्वजनिक जग्गा फिर्ता गरियो(भिडियोसहित)



फागुन १०, काठमाण्डौ । सरकारी जग्गा कुन बेला व्यक्तिको नाममा दर्ता हुन्छ पत्तै पाइदैन । भूमाफिया यति शक्तिशाली छन् कि सरकार र नीति नियमलाई सजिलै लत्याइदिन्छन् । एकपछि अर्को गर्दै सार्वजनिक जग्गा व्यक्तिको नाममा रहेको खुलासा हुन थालेपछि त्यस्ता जग्गा फिर्ता ल्याउने अभियान पनि सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको ६ रोपनी अतिक्रमित जग्गा महानगरले फिर्ता लिएको छ । त्यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य गणेश दुलाल र वडानम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीसहितको टोलीले अतिक्रमित जग्गा फिर्ता गराएको हो । त्यहाँ घर टहरा बनाएर बस्दै आएका सर्वसाधारणलाई ठाउँ छोड्न सूचना जारी गरेको थियो । तर अटेर गरेपछि उनीहरुलाई हटाइएको हो । त्यसक्रममा घर टहरामा भएका सामान निकालेर डोजर लगाइएको थियो ।

प्रदेशसभा सदस्य गणेश दुलालले सबै प्रमाणहरुका आधारमा त्यस क्षेत्रको जग्गा सरकारी भएको पुष्टी भएपछि बस्ती हटाउन बाध्य भएको बताए । सरकारी जग्गा अतिक्रमण गरेर वर्षौदेखि व्यक्तिले भाडामा लगाएको र बारम्बार सूचना जारी गर्दापनि अटेर गरेपछि घरटहरा भत्काएको दुलालले बताए । सबै अतिक्रमित सार्वजनिक जग्गा फिताए गर्ने अभियानका साथ अगाडी बढेको दुलालले बताए ।

यसअघि १८ दिने सूचना जारी गरेपनि अटेर गरेपछि डोजर चलाएर टहरा भत्काउनुपरेको काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए । स्थानीयहरुले भने खाली गर्न पर्याप्त सूचना दिएको तर हटाउन अटेर गरेपछि सरकारले डोजर लगाएर भत्काउनु स्वभाविक भएको बताए ।

उक्त क्षेत्रको सरकारी जग्गा अतिक्रमण गरेर वर्षौदेखि भू माफियाले भाडामा लगाएका थिए । भू माफिया दारेराम विजय भन्ने व्यक्तिले भाडामा लगाएको खुल्न आएको थियो । डोजर लगाएपछि आक्रोषित भू माफिया विजय विवाद गर्न आइपुगेका थिए ।

तर कानुनी रुपमा आफूले गलत गरेको अनुभव गरेपछि उनी पछि हटे । यसरी सरकारले सार्वजनिक जग्गा संरक्षणका लागि चालेको कदम सराहनीय छ । तर यस्ता काम गर्दा आग्रह पूर्वाग्रह नराखियोस् । देशैभर भू माफियाले कब्जा गरेको जग्गा जतिसक्दो छिटो फिर्ता गरियोस् ।



प्रतिक्रिया दिनुहोस्