Logo

सिनामंगल नगरसेवा समाजको १८औं साधारण सभा सम्पन्न



काठमाडौं, १० फागुन । सिनामंगल नगरसेवा समाजको १८औं साधारण सभा आज २०७६ साल फाल्गुन १० गते शनिवारका दिन काठमाडौं ३२ पेप्सीकोला स्थित शान बैंक्वेटमा सम्पन्न भयो । का.म.पा. ३२ का वडाध्यक्ष श्री नवराज पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा वागमती प्रदेशका प्रमुख सचिव श्री तोयम रायाको विशेष आतिथ्यता रहेको थियो भने समाजका अध्यक्ष श्री गोपाल बहादुर तामाङ्गले सभाको सभापतित्व ग्रहण गर्नुभएको थियो ।
समाजका महासचिव श्री विजयराज पौडेलले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष श्री खडानन्द ढकाल (प्रतीक ढकाल) ले उपस्थित सम्पूर्ण सदस्य, अतिथि लगायतका महानुभावहरूलाई स्वागत मन्तव्यले सम्वोधन गर्नुभएको थियो । “स्वच्छ, सफा, हराभरा, शान्त, सुरक्षित मनोहरवस्ती हाम्रो अभियान, यो संभव छ जवसम्म रहन्छ सबैको साथ, सहयोग र योगदान ।” भन्ने समाजको मुख्य नारा रहेको छ ।
कार्यक्रममा समाजका अध्यक्ष तामाङ्गले समाजले विगत बर्षहरूमा गरेका प्रमुख कार्यबारे सभालाई अवगत एवं स्मरण गराउनुभयो । उपाध्यक्ष ढकाल र महासचिव पौडेलले समाजले सडक, ढल, पार्क व्यवस्थापन, सडक बत्ती (सोलार) लगायतका क्षेत्रमा गरेका प्रयास एवं उपलब्धी सम्बन्धमा चर्चा गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पराजुलीले आफूले वडाध्यक्षको जिम्मेवारी सम्हालेको ३ वर्षको अवधिमा प्रत्येक टोल, समाज र समूहसँगको सहकार्यतामा नै हरेक विकास कार्य गर्दै आएको र आगामी दिनमा पनि त्यसै गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । करिब अढाइ करोडको लागतमा तत्कालै सिनामंगल नगरसेवा समाज क्षेत्रका सम्पूर्ण सडकलाई कालोपत्रे गर्ने जानकारी दिंदै वडाध्यक्ष पराजुलीले यसका लागि आइपर्ने व्यवहारीक समस्या समाधानका लागि समाजका सबै सदस्यको महत्वपूर्ण भूमिका हुने विषय पनि प्रष्ट पार्नुभयो ।
यथाशीघ्र कोटेश्वर-जडिबुटीको ट्राफिक जाम हटाउन आफू लागि परेको व्यहोरा जानकारी गराउँदै पराजुलीले “छोटीमुख बढी वात” नहोस तर यो काम म मेरो यहि कार्यकालमा सम्पन्न गर्नेछु भनि ठोस प्रतिवद्धता पनि जाहेर गर्नुभयो । यसका लागि तयार पारिएका विभिन्न बैकल्पिक सडको रूटबारे पनि सभालाई जानकारी गराउनुभयो । यसका साथै खानेपानी लगायतका सामाजिक विकासका आफ्ना कैयन योजनाबारे पराजुलीले सभालाई जानकारी गराउनुभयो ।
समाजका महत्वपूर्ण सदस्य तथा आजका कार्यक्रमका विशेष अतिथि वागमती प्रदेशका प्रमुख सचिव श्री तोयम रायाले आफू लगायतका समाजका अग्रज सदस्यहरूले सिनामंगल नगरसेवा समाजको विकासक्रमका सन्दर्भमा खेपेका तिता मिठा अनुभव साटासाट गर्दै यो समाज र क्षेत्रलाई नमूना समाजको रूपमा विकास गर्न सबै सदस्य लागि पर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । व्यक्ति, व्यक्तिगत पहिचानभन्दा समाज प्रधान रहेको विचार राख्दै प्रमुख सचिव रायाले यो समाजको विकास, उन्नयन र सुधारकालागि आफू सदैव सकारात्मक र जागरूक रहेको र रहिरहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।
सभामा नगरसेवा समाजका अध्यक्ष तामाङ्ग, महासचिव पौडेल र कोषाध्यक्ष श्री देवराज ढकालले पेश गर्नुभएका बार्षिक कार्य प्रगति एवं आर्थिक प्रतिवदेनहरू अनुमोदन गरिए । समाजका सदस्यहरूले पेश गरिएका प्रतिवेदनहरू उपर आफ्ना राय-सुझावहरू पनि राख्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्