Logo

फस्टाउँदै सामूहिक माछापालन



काठमाडौँ, ११ फागुन । रोजगारीका लागि विदेश जाने तयारीमा रहेका कोहलपुरका चार जना युवाले मिलेर सुरु गरेको सामूहिक माछापालन फस्टाउँदै गएको छ । माछापालन गरेको पहिलो वर्षमा नै उनीहरूले ३५ क्विन्टल माछा बिक्री गर्ने आशा लिएका छन् ।

कोहलपुर–३ मैटहवामा झन्डै एक वर्षअघि सुरु गरिएको सो सामूहिक माछापालनबाट उत्पादित माछामध्ये हालसम्म १० क्विन्टल माछा बिक्री गरिसकेको र २५ क्विन्टल माछा पोखरीमै रहेकाले झिकेर बिक्री गर्ने कार्य चलिरहेको छ । मिहिनेत गर्ने हो भने स्वदेशमै प्रशस्त आम्दानी र रोजगारी सिर्जना गर्नुका साथै राम्रो आम्दानीसमेत गर्न सकिन्छ भन्ने राम्रो उदाहरण यो सामूहिक माछापालन बनेको छ । साढे पाँच बिघा जग्गा भाडामा लिएर ३५ लाख रुपियाँको लगानीमा सुरु भएको शाही मत्स्यपालन फर्मले राम्रो उत्पादन गर्न सक्ने सम्भावना देखिएको छ । कोहलपुर नगरपालिका–३ मैटहवाका केशव शाहीले अन्य तीन जना स्थानीय युवा कमल बस्नेत, हलिम शाह र गोपाल अधिकारीसँंग मिलेर फर्म स्थापना गरेको हो ।

एक वर्षअघि रोजगारीका लागि विदेश जाने सोच बनाएर भिसा लिन खोजिरहेका ती युवाले अहिले सामूहिक माछापालनसँंगै पोखरीको छेउमै एक रिसोर्टसमेत स्थापना गर्ने योजना बनाइरहेको छ । ९० हजार भुराबाट माछापालन सुरु गरेकोे जनाउँदै शाही मत्स्यपालन फर्मका अर्का सञ्चालक कमल बस्नेतले एक वर्षमै १० क्विन्टल माछा बिक्री गर्न सफल भएको र पोखरीमा रहेका २५ क्विन्टल माछा पनि निकाल्ने काम भइरहेको बताएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्