Logo

सूचना नै छैन पर्यटकलाई



काठमाडौँ, ११ फागुन । चितवन नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचत भए पनि यहाँ आउने पर्यटकले पर्याप्त सूचनाको अभावमा भौँतारिनुपरेको छ । सार्वजनिक बस तथा हवाईजहाजबाट चितवन आएका पर्यटकले जिल्लामा घुम्नलायक स्थानको सूचना होर्डिङबोर्ड वा सार्वजनिक स्थानमा टाँगिएका सूचनाबाट पाउन सक्दैनन् ।

उनीहरूले अरूले भनेको, आफैँले गुगलमा खोजेर वा कुनै व्यक्तिलाई सम्पर्क गरेर मात्र जान सक्छन् । भरतपुर विमानस्थलमा राखिएको सामान्य सूचनापाटीले स्थानको मात्र जानकारी गराउँछ । पर्यटकीय स्थान, त्यहाँ जान लाग्ने समय, पाउने सेवासुविधा, होटलको अवस्था, घुम्नलायक स्थानको जानकारी पर्यटकले सहज पाउने अवस्था छैन । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष तथा पर्यटन व्यवसायी दीपक भट्टराईले बताए, पर्यटन वर्ष मनाइरहँदा जिल्ला आउने पर्यटकले सहज रूपमा सूचना पाउनुपर्दछ । सवारीसाधनबाट आउने पर्यटकले बसपार्कमा उत्रेपछि जिल्लाको पर्यटकीय स्थानको सूचना पाउन सक्दैनन्, उनले भने । सडक मार्गबाट चितवन आउँदा भरतपुर र नारायणगढमा दुईवटा बसपार्क छन् । हवाई मार्गबाट आउँदा भरतपुर र मेघौलीमा विमानस्थल छ । स्थल मार्ग हँुदै पूर्व–पश्चिम र दक्षिण ठोरीबाट चितवन आउन सकिन्छ । ती स्थानका सडकमा चितवनको पर्यटकीय स्थलको जानकारी दिने होर्डिङबोर्ड तथा सूचनापाटी राखिएको छैन । आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको घुम्ने स्थानको जानकारी दिन सकेमा पर्यटक बढ्ने पर्यटन व्यवसायीको भनाइ छ ।

पर्यटन व्यवसायी माधव दवाडीले बताए । जति धेरै हामीले प्रचारप्रसार गर्न सक्छौँ त्यति नै पर्यटक आउँछन् । हामी आपसमा मात्र छलफल गरेर हुँदैन, चितवनको पर्यटकीय स्थानको जानकारी बाहिरकालाई दिनुपर्दछ । क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले पर्यटक भित्र्याउन प्रचारप्रसारको अभाव भयो भन्दै जिल्लामा पर्याप्त मात्रामा सूचनापाटी नभएको चर्चा गरे । जिल्लाबारे पहिलै नै जानकारी लिएर, कुनै संस्था, व्यक्तिमार्फत आयो भने त्यसका आधारमा जान सकिन्छ, उनले भने । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्