Logo

कोरियामा कोरोना त्रास



काठमाडौँ, ११ फागुन । दक्षिण कोरियाको राजधानी सोलदेखि ३ सय किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर । यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण । कोरियाको चौथो ठूलो सहर थेगुमा विभिन्न कम्पनीहरू छन् ।

दक्षिण कोरियाको डाइगुमा मास्कसहित जेब्रा क्रसिङमा ट्राफिक संकेत कुर्दै स्थानीय नागरिक तस्बिर : रोयटर्स कामका लागि कोरिया पुगेका विभिन्न देशका कामदारको यहाँ उल्लेख्य उपस्थिति छ । तर थेगुमा केही दिनयता ह्वात्तै फैलिएको कोरोना संक्रमणका कारण ती कामदार त्रासमा बसिरहेका छन् । थेगुमा शनिबार मात्रै २ सय २९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरियामा कोरोना संक्रमितको संख्या ४ सय ३३ पुगेको छ । थेगु नजिकैको छाङदोको छाङदो थेनाम अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ९ जना अस्पतालका कर्मचारी र १ सय २ जना भाइरसबाट संक्रमित भएका छन् । थेगु र छाङदोमा मात्रै ३ सय ५३ संक्रमित छन् । भाइरसको संक्रमण फैलिएपछि थेगु आसपासका कम्पनीले कामदारलाई बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् । थेगुमा झन्डै २५ लाख मानिस बसोबास गर्छन् । थेगु र आसपासका क्षेत्रमा ७ हजार नेपाली ईपीएसमार्फत काम गरिरहेका छन् । भाइरसको संक्रमण बढ्दै जाँदा सहरमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको थेगुमै काम गरिरहेकी पार्वती वाइबाले बताइन् । ‘हामी आज धेरै दिनपछि तरकारी किन्न निस्किएका थियौं । भनेजस्तो सामान नै नपाउने । पाउरोटीहरू पनि छैनन् । जे भेट्टायो त्यही लिएर आयौं । पहिलाजस्तो बजारमा सामान नै छैन,’ उनलेगुनासो गरिन् ।

वेल्डिङको काम गर्ने शेर्पा दुई सातादेखि कम्पनीभित्रैको कोठामा सीमित छन् । ‘केही समयअघिसम्म फुर्सदका बेला घुम्न निस्किन्थें । साथीभाइसँग रमाइलो हुन्थ्यो,’ उनले भने, ‘नेपालीहरूसँग मनका कुरा गर्दा कम्पनीको कामको दुःख बिर्सन्थें ।’ तर उनको फुर्सदको समय हाल केही फेरिएको छ । उनले केही खान मन लाग्यो भने कम्पनीमै भन्छन् । ‘यसो सोच्छु सुरक्षा अपनाउने आफ्नै लागि हो । केही समयपछि ठीक होला नि रु’ उनले आशा मारेका छैनन् । थेगु मात्रै होइन कोरोनाको त्रास भने कोरियाभरि नै उस्तै छ । छुङछन नाम्दोमा काम गर्ने रामजी श्रेष्ठलाई पनि कम्पनीले बाहिर निस्कन बर्जित गरेको छ । ‘जताको समाचार सुन्दा पनि डर लाग्दो छ । हाम्रोतिर संक्रमित त भेटिएको छैन । तर नजिकैका फेन्थेक, सुवनतिरका मानिसमा संक्रमण भेटिएकाले अलि संवेदनशील बनेका होलान् ।’ केही कम्पनीले बिहान र बेलुकी ज्वरो नाप्ने नियम बनाएका छन् । मास्क प्रयोगमा पनि कम्पनीले कडाइ गरेका छन् । कम्पनीमा बाहिरी मानिसको आवतजावत भने बन्दजस्तै छ । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्