Logo

एमसिसी संशोधन गर्न नेताहरु तयार



काठमाडौं, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे स्पष्ट हुन बनाएको कार्यदलले एमसिसी अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको इन्डोप्यासिफिक रणनीति सफल बनाउन आर्थिक क्षेत्रबाट प्रवेश गरेको एउटा कार्यक्रम भएको निष्कर्ष निकालेको छ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई शुक्रबार बुझाइएको ६१ पेज लामो प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको हो। यो विषयले शनिबार सचिवालय बैठकमा प्रवेश पाएपछि सचिवालयका सदस्यहरु सम्झौता संशोधन गर्नुपर्ने पक्षमा उभिएका छन्। माघ १५ देखि १९ सम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्य एमसिसीको विपक्षमा उभिएपछि पार्टीले अध्ययन गर्न कार्यदल बनाएको थियो। कार्यदलले एमसिसीको ३९८०, ५९१०, ६९२० र ७९१० बुँदालाई संशोधन नगरी पास नगर्न सुझाव दिएका कारण नेताहरु संशोधन गर्नुपर्ने पक्षमा उभिएको सचिवालय निकट स्रोतले जनाएको छ।

कार्यदलसम्बद्ध स्रोतका अनुसार एमसिसी इन्डोप्यासिफिक रणनीति भएकोमा शंका नभएको स्पष्ट पार्दै यसबाट मुक्त हुन सरकारलाई सुझाव दिइएको छ। ‘यो सैन्य रणनीतिअन्तर्गतकै एउटा परियोजना हो। यसलाई सफल पार्न आर्थिक क्षेत्रबाट नेपालमा प्रवेश गराइएको छ। यो व्यवस्थापकीय आधार हो, यसबाट मुक्त हुनपर्छ’, कार्यदलको सुझाव छ। (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्