Logo

प्रधानमन्त्री पद धरापमा परेपछि वामदेवलाई फकाउन ओलीको नयाँ प्रस्ताव



काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने रणनीतिले गति लिएको छ । ओली सरकार एकपछि अर्को विवादमा परेपछि उनका आन्तरिक प्रतिद्धन्द्धीले हटाउने उपयुक्त अवसर देख्न थालेका छन् ।

पार्टीभित्र पाँच प्रभावशाली नेतामध्ये ओली सबैभन्दा बलिया छन् । तर, उनी एक्लै भएमा चार नेताहरु मिलेमा सजिलै हटाउन सक्छन् । नेकपाको संसदीय दलको यो अंकगणितले ओली गम्भीर भएका छन् । दुई वर्षसम्म ओली ढुक्क थिए । अविश्वासको प्रस्ताव दर्ता हुन सक्दैनथियो । अब भने ढोका खुलेको छ । त्यसैले ओलीमाथि दबाब बढेको हो ।

नेकपाभित्र अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल ओलीको विपक्षमा देखिएका छन् । प्रचण्डले आफूलाई भावी प्रधानमन्त्रीको दाबेदार बनाइसकेका छन् । जुन उनको भाषणहरुबा प्रष्ट हुन्छ । वरिष्ठ नेता माधवकुमार नेपाल ललिता निवास काण्डमा ओलीको भूमिका आफूलाई असजिलो पार्ने खालको भएको भन्दै असन्तुष्ट छन् ।

अर्का वरिष्ठ नेता झलनाथ खनाल ओलीको विपक्षमा खुलेरै लागेको देखिइसकेको छ । उनले यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै सचिवालयमा प्रतिवेदन बुझाइसकेका छन् । यसले ओली निकै अप्ठ्यारोमा छन् ।

ओलीले वामदेव गौतमलाई आफू नजिक ल्याउन उपाध्यक्ष बनाउन भूमिका खेले । तर, गौतमको चाहना संविधान संशोधन गरी राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ भन्ने रहेको थियो । त्यसमा ओलीले साथ दिएनन् । उनी फेरि टाढिए । तर, ओलीले गौतमलाई फेरि नजिक ल्याउन खोज्दैछन् । राष्ट्रियसभा सदस्य बनाएर गौतमलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिन ओलीको चाहना छ । तर, गौतमले मन्त्री धेरैपटक बनेकाले अब आफू प्रधानमन्त्री मात्र बन्ने बताइसकेका छन् । ओलीलाई गौतमको साथ पाउन यसकारण पनि निकै कठिन छ ।

आफूबाहेकका चार प्रभावशाली नेताहरु प्रचण्ड, खनाल, नेपाल र गौतमलाई मिलाउन या जुधाउने बाहेक ओलीसँग कुनै विकल्प छैन । उनीविरुद्ध चार नेता एकीकृत भएमा प्रधानमन्त्री पद धरापमा पर्न सक्छ । जुधाउन उत्तिकै कठिन छ । ओलीले रणनीति त चालिरहका रहेछन् तर एकाएक आएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणलगायतका विकसित घटनाक्रमले ओली अप्ठ्यारोमा छन् । एकपछि अर्को गर्दै सरकारका कमी कमजोरी सार्वजनिक हुँदा पार्टीभित्र समेत ओलीलाई संकट बढेको छ ।



प्रतिक्रिया दिनुहोस्