Logo

गच्छेदारको भागमा रहेको ११ केन्द्रीय सदस्यमा को को पर्लान्



काठमाडौं, ११ फागुन । नेपाली काँग्रेसमा छिट्टै ११ जना केन्द्रीय सदस्य थपिने भएको छ । विजयकुमार गच्छेदार नेतृत्वको लोकतान्त्रिक फोरमसँगको एकतापछि समायोजनका क्रममा उपसभापतिसहित ११ केन्द्रीय सदस्य पाएकोमा छिट्टै नाम पठाउने तयारी भएको छ ।

गच्छेदार उपसभापति बनाइएका छन् । तर, असोजमा नाम पठाउनुपर्नेमा अझै कुरा मिलेको छैन । अब भने गच्छेदारले नाम पठाउने भएका हुन् । उनीमाथि पूर्व लोकतान्त्रिक फोरमका नेताहरुले दबाब बढाएका छन् । ललिता निवास जग्गा काण्डमा गच्छेदारमाथि समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी निकटस्थहरुले दबाब बढाएका हुन् । गच्छेदारले यसै हप्ताभित्र नाम दिने सम्भावना बढेको छ ।

गच्छेदार पक्षबाट फोरम हुँदा उपाध्यक्ष रहेका रामजनम चौधरी, महासचिव जितेन्द्रनारायण देव, कोषाध्यक्ष शिव गर्माछाने, गोपाल दहित, महेश कोर्मोचा, गीता राणा केन्द्रीय सदस्य बन्ने निश्चित प्रायः छ । भारतेन्दुकुमार मल्लिक, नेत्रबहादुर लिम्बू, चन्द्रबहादुर कार्की, नन्दु सरदार, वीरेन्द्र नेपाली, कृष्ण दुलाल, योगेन्द्र चौधरी, सुमित्रा थारु, नसिद सिद्धिकी, हरि न्यौपानेको पनि सम्भावना बलियो छ । गणेश लामालाई केन्द्रीय सदस्य बनाउन गच्छेदार सकारात्मक भएपनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरु सकारात्मक छैनन् ।

जिल्ला तहको सांगठनिक समायोजन भने मंगलबार टुंगिइसकेको छ । जिल्ला सदस्यहरुको नामावली टुंग्याएर सम्बन्धित जिल्लामा पठाइसकिएको छ । एक हजारभन्दा बढी क्रियाशील सदस्य रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति, सहसचिवसहित आठ सदस्य फोरम पक्षलाई दिने सहमति भएको थियो ।

गच्छेदार समूहबाट दुई सय महासमिति सदस्य, पर्यवेक्षक एक सय ४८, महाधिवेशन प्रतिनिधि छ सय, २२ जिल्लामा कार्यसमिति पदाधिकारी र सदस्य तथा ४६ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति पदाधिकारी र सदस्यको नामावली बुझाएको छ । गच्छेदार समूहबाट दुई हजारभन्दा बढी कार्यकर्ताले पद पाएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्