Logo

काँग्रेसले अर्बौंको भ्रष्टाचार खोजेर सार्वजनिक गर्न सक्ला ?



रिपोर्टर्स नेपाल, ११ फागुन । नेपाली काँग्रेसको छायाँ सरकारको बैठक बसेर देशमा भइरहेको भ्रष्टाचार र अनियमितताका घटनाको अध्ययन गरी सार्वजनिक गर्ने निर्णय गर्यो । आज काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयप्रति धेरैको ध्यान गएको छ ।

काँग्रेसको छायाँ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं छन् । जो पटक पटक प्रधानमन्त्री भइसकेका हुन् । उनको पालामा पनि भ्रष्टाचारका धेरै काण्ड बाहिर आएको थियो ।

देशमा विगत दुई वर्षभित्र धेरै भ्रष्टाचार र अनियमितताका विषय बाहिर आए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साना माछा मात्र समातेको आरोप खेप्यो । पछिल्लो समय ललिता निवासको जग्गा प्रकरणमा हाइप्रोफाइल नाम नै आयो । जसमा काँग्रेस उपसभापति विजयकुमार गच्छेदार समेत थिए । गच्छेदारमाथि अख्तियारले मुद्दा दायर गरेको छ ।

देशमा अर्बौंको कल छली देखि ठेक्कापट्टा, सामाग्री खरिद देखि दूरसञ्चारसम्बन्धि सम्झौतामा अरबौंको अनियमितता भएको खुल्दै गएको छ । विगत दुई वर्षमा यो हदसम्मको अनियमितताको आशंकाहरु भइरहँदा पनि काँग्रेस किन मौन बस्यो ? यो गम्भीर प्रश्न बनेको छ ।

पछिल्लो समय उठेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा गोकुल बाँस्कोटा मन्त्री पदबाट राजीनामा दिन वाध्य भए । प्रधानमन्त्री केपी शर्मा ओली समेत यस घटनामा मुछिएको आरोपहरु लागिरहेको छ । कतिपय गम्भीर विषयहरु खुलिरहेका छन् जसको जवाफ प्रधानमन्त्रीले दिएका छैनन् । अर्कोतर्फ, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद सभापति रहेको सार्वजनिक लेखा समितिको टिम नै विवादमा परेको छ ।

देशमा भएका ठूला अनियमिततामा सत्तापक्ष र प्रतिपक्ष समेत मिलेको आरोपहरु लागिरहेको छ । मिलेर व्यापारिको स्वार्थमा नेताहरु संचालित भएको विषय बाहिर आइरहेको छ । यस्तो अवस्थामा काँग्रेसले भ्रष्टाचारबारे कसरी खुलासा गर्ला र अध्ययन गरेर कसरी वास्तविकता बाहिर ल्याउला शंकाको विषय बनेको छ ।

वाइडबडी देखि दूरसञ्चार कम्पनिहरुको कर छली प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष दुवै मौन बसे । विगतमा भएका ठूला भ्रष्टाचारका घटना त्यत्तिकै गुपचुप पारियो । तर, पछिल्लो समय लहरो तान्दा पहरो झरिरहँदा सत्तापक्ष र प्रतिपक्ष दुवैबाट अनियमितताको घटनाहरु बाहिर आउनसक्ने माहोल बन्दैछ । यदि मिलेमतोमा यी घटना लुकाइएन भने नेपालमा भ्रष्टाचारको भयावह दृश्य जनतासामु देखापर्न सक्छ । यसमा काँग्रेसले हिम्मत देखाउन सक्छ कि सक्दैन ? प्रतिक्षाको विषय छ ।



प्रतिक्रिया दिनुहोस्