Logo

ओलीले जन्मदिनमा नेपालको नक्शा काटेपछि आलोचना, पार्टीकै आचारसंहिता उल्लंघन



फागुन ११, काठमाण्डौ । प्रधानमन्त्री केपी ओली लामो समयदेखि अस्वस्थ छन् । उनी आजबाट ७० वर्षमा प्रवेश गरे । जन्मदिनको अवसरमा दिनभरी उनलाई नेकपाका नेता, कार्यकर्ताले मात्रै होइन, सर्वसाधारणले पनि शुभकामना दिए ।

अस्वस्थ ओलीलाई जन्मदिनको शुभकामनाले ठोस रुपमा केही अर्थ नराखे पनि मनोबल बढाउन पक्कै भूमिका खेल्ने छ । तर दिनभरीको शुभकामना र शुभेच्छामाथि प्रहार जब भयो, तब ओलीले जन्मदिनमा काटेको केकमा नेपालको नक्सा देखियो ।

ओलीले आफ्नो ६९ औं जन्मोत्सव आफू जन्मेको जिल्ला तेह्रथुम पुगेर मनाएका हुन् । तेह्रथुम आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्म घर नजिकै हेलिप्याड निर्माण गरिएको थियो । ओलीले गाउँपालिकाको ४ को इवास्थित आफू जन्मेको घरमा धुमधामका जन्मोत्सव मनाएका हुन् । प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि आज आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको थियो ।

उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी छन्। त्यहाँ रहेका कर्मचारीहरुलाई प्रधानमन्त्रीको जन्मदिनमा अनिवार्य सहभागी हुन गाउँपालिकाले निर्देशनात्मक पत्र पठाएको थियो ।

तर केकमा नेपालको नक्सा बनाएर काटिएको र उक्त केके लैजानका लागि हेलिकोप्टर चार्टर्ड गरिएको खुलासा भएपछि चौतर्फी विरोध भइरहेको छ ।

जन्मदिनका लागि केक नै हेलिकप्टरमा लगिएएको थाहा पाएपछि फेसबुकमा जीवन अधिकारीले ओलीलाई गणतान्त्रिक नेपालको राजाको संज्ञा दिएका छन् । उनले लेखेका छन्,– अब खड़क प्रसाद शर्मा ओलीजीलाई गणतांत्रिक नेपालको राजा २ तिहाई बहुमतले प्रतिनिधीसभाबाट पारित गर्न मात्रै बाँकी रह्यो ।

अधिकांशले प्रधानमन्त्रीलाई राम्रो सल्लाहाकार राख्न सुझाब दिएका छन् ।

राजबल्लभ कोइरालाले पनि सल्लाहाकारप्रति असन्तुष्टि व्यक्त गर्दै टुइटरमा लेखेका छन्,– नक्सा नै केक बनाउने आईडिया कसको होला ?
खै के खै के, धरोधर्म एकदिम अजीब लाग्छ ।

टुइटरमा फिक्का चिया नामबाट पोस्ट भएको छ–राष्ट्रवादी हरुको जन्म उत्सव देश कै नक्स रुपि केक काटेर गर्नुपर्ने रैछ हजुर।
त्यसैगरी नारायण अमृतले लेखेका छन्,–बर्थडे केक’मा नेपालको नक्सा रहेछ। नक्सा काटेर लिम्पियाधुराको अनुमोदन हो कि अरु कुनै अलंकारको खोजी ? कहिलेकाँही सौन्दर्य, सन्देश र संवेगको वेसुर बाँसुरीमा मात्र हैन अरु उपक्रमहरुमा बज्दोरहेछ।

प्रधानमन्त्री ओलीको जन्मघर

अनन्त कोइरालाले गरिब देशका प्रधानमन्त्रीले यसरी हेलिकप्टरमा केक लगेर जन्मदिन मनाउनु अशोभनीय भएको तर्क गरेका छन् । उनले टुइटरमा लेखेका छन्,–नेपाल गरीब देश हो भनेर गलत बुझाइॅंदैछ विश्वलाई। जुन देशमा प्रधानमन्त्रीको जन्मदिनको केक हेलिकोप्टरबाट डेलिभरी गरिन्छ, त्यो देश कसरी गरीबरु हाम्रो मानसिकता गरीब हो। गरीब मानसिकता त्यागौं।

ओलीले नेकपाले जारी गरेको आचारसंहिताको उल्लंघन गरे भन्दा फरक पर्दैन । नेकपाले गत माघ ५ गते पार्टी भित्र विशेष परिपत्र जारी गर्‍यो। २०७६ साउन ३१ गते बसेको नेकपाको सचिवालय बैठकले बामदेव गौतमलाई संगठन विभाग प्रमुख बनायो ।

यही विभागको पहिलो बैठक असोज ३० गते पार्टी कार्यालयमा बैठक बस्यो। बैठकले पार्टीको नियमावली संशोधन,संगठित सदस्यता नवीकरण, संगठनात्मक कामलाई गति दिन तत्काल गर्नुपर्ने काम र पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुले पालना गर्नुपर्ने आचार संहितासहितको कार्ययोजना तयार गरी केन्द्रीय सचिवालयमा पेश गर्‍यो। सोही अनुरुप केन्द्रीय सचिवालयको पुस १३ गते सम्पन्न बैठकले कार्ययोजनालाई परिमार्जनसहित पारित गर्‍यो।

सचिवालयको सोही निर्णयसहित जारी गरिएको विशेष सर्कुलरले पार्टीका नेता कार्यकर्ताहरुलाई आचार संहितामा बाँध्ने प्रयास गरेको छ। सर्कुलरको खण्ड ‘ङ’मा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यले पालन गर्नुपर्ने आचारसंहिताको बारेमा उल्लेख छ।

आचारसंहितमा परिवार भित्र बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्ने सर्कुलरमा उल्लेख छ।

‘छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ। जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’ जारी गरिएको सर्कुलरमा भनिएको छ।

जन्मदिनको केक काट्नुअघि उनले आफ्नो पुख्र्यौली घरको अवलोकन गरेका थिए। घरको भित्रबाहिर वरिपरी करिव दश मिनेटसम्म चहारे। गम्भीर देखिएका प्रधानमन्त्री ओली जन्मदिनको विशेष समारोहमा भावुक पनि बनेका थिए ।

ओलीले जन्मदिनमा सय बढी जेष्ठ नागरिकलाई सम्मान गर्नुको साथै एक हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर खुसीयाली साटेका छन्।



प्रतिक्रिया दिनुहोस्