Logo

बाइस प्रतिशत जनतामा बीमा पहुँच



काठमाडौँ, १२ फागुन । चरम गरिबीको रेखामुनि रहेका जनतालाई सरकारले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आफैँले योगदान गरेर बीमा सेवा प्राप्त गर्न नसक्ने समूहलाई सरकारले निःशुल्क स्वास्थ्य बीमा सुविधा दिने बताएका छन् ।

राष्ट्रिय बीमा संस्थानको ५३औँ वर्ष प्रवेशको अवसरमा आइतबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले निःशुल्क गरेपछि साढे १६ लाख परिवारका ७५ लाख नागरिक बीमाको दायरामा आउने बताए ।
बीमाको दायरा बढाउँदा साना, सीमान्तकृत र चरम गरिबीको रेखामुनि रहेकालाई पनि समेट्ने गरी लाग्न उनको आग्रह थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका डा. खतिवडाले बीमाका जोखिमलाई विविधीकरण गर्न पुनर्बीमाको जोखिमलाई पनि विविधीकरण गर्नुपर्ने आवश्यकता उनले औँल्याएका थिए ।  सरकारले सामाजिक सुरक्षाको दायरा फराकिलो पार्न बीमाको पहुँच विस्तार हुने गरी बीमा सेवा प्रदायक निकायहरूको संस्थागत र प्रणालीगत सुधार गर्ने, घुम्ती बीमा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उनले बताएको छ । बीमा सेवा प्रदायक संस्थाको व्यापक विस्तारका कारण पछिल्ला वर्षहरूमा बीमा सेवाको उल्लेख्य विस्तार भएको भन्दै उनले भने, यसको बाबजुद हालसम्म नेपालको कुल जनसङ्ख्याको २२ प्रतिशत जनतामा मात्र बीमाको पहुँच पुगेको परिप्रेक्ष्यमा संस्थानको भूमिका अझ प्रभावकारी हुँदै जानुपर्ने देख्दछु ।

संस्थानले सङ्कलन गरेको बीमकको लगानीयोग्य रकमलाई सुरक्षित तथा प्रतिफलमुखी क्षेत्रमा लगानी प्रवाह गर्न सकिएमा यसले मुलुकको पुँजी बजार विकासमार्फत आर्थिक विकासमा थप योगदान पु¥याउने विश्वास व्यक्त गरे । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले नेपालको बीमा बजारमा दक्ष जनशक्तिको उत्पादन र विकासमा संस्थानको योगदानको कदर गर्दै संस्थानले आफ्नो वित्तीय विवरणको पारदर्शितामार्फत स्वस्थ व्यावसायिकताको मार्ग पहिल्याउन सक्नुपर्ने बताएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्