Logo

भुरा र दानामा अनुदान माग



काठमाडौँ, १२ फागुन । माछापालक किसानले पोखरी निर्माणभन्दा माछाको भुरा र चारोमा अनुदान दिनुपर्ने माग गरेका छन् । उनीहरूले माछाको भुरा र चारोको मूल्य उच्च हुँदा प्रतिस्पर्धा गर्न नसकेको र किसानले घाटा बेहोरिरहेको भन्दै अनुदानसम्बन्धी नीतिमा नै परिवर्तन गर्नुपर्ने सुझाव दिएका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य जोन कार्यान्वयन एकाइ मोरङले आइतबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा किसानले अब पोखरी निर्माणमा दिने अनुदान कटौती गर्नुपर्ने र त्यसको साटोमा माछाको भुरा र दानामा अनुदान दिने कार्यक्रम ल्याउन सुझाव दिएका हुन् । दानाको मूल्य उच्च हुँदा भारतबाट आयात हुने माछासँग नेपाली किसानको उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै दाना र भुरामा अनुदान दिने व्यवस्था भए प्रतिस्पर्धा गर्न सकिने उनीहरूले बताएका थिए । सरकारले माछा उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले पोखरी निर्माणमा जोड दिएको छ । सरकारले पोखरी निर्माण र मर्मतमा अनुदान उपलब्ध गराउने नीति लिएको छ । पोखरी खन्नभन्दा सरकारले माछाको आहारा र भुरामा अनुदान दिनुपर्छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालक समिति मोरङको अध्यक्ष गणेश उप्रेतीले भनेका छन् । तत्काल पोखरीको क्षेत्रफल बढाउनुभन्दा भएका पोखरीबाट बढी उत्पादन लिने नीति अवलम्बन गर्न जरुरी छ ।

मोरङको कटहरी, धनपालथान गाउँपालिका र रङ्गेली नगरपालिकामा माछा जोन कार्यक्रम लागू गरिएको छ । जोनअन्तर्गत तीन सय हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा माछापालन भइरहेको मत्स्य जोन सञ्चालक समिति मोरङका सचिव देवराज चौधरीले जानकारी दिएका छन् । राज्यले वितरण गर्ने अनुदान उत्पादनमा आधारित हुनुपर्ने उनले बताएका छन् । अहिले अनुदान वितरणमा विभेदसमेत हुने गरेको भन्दै उनले प्रदेश र सङ्घीय सरकारले दिने अनुदानमा एकरूपता कायम गर्नुपर्नेमा जोड दिएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्