Logo

विदेशको पीडाले स्वेदशमा मिहिनेत



काठमाडौँ, १२ फागुन । कैलालीको घोडाघोडी नगरपालिका अन्तर्गत भालुफाँटामा स्थानीय युवाले मिलेर व्यावसायिक रूपमा भेडेखुर्सानीको खेती सुरु गरेका छन् । करिब ५५ लाख लगानीमा तीन जना युवा मिलेर नेट हाउसभित्र बेमौसमी भेडेखुर्सानी खेती सुरु गरेका हुन् ।

बुद्ध एग्रो फार्मको नामले स्थानीय युवा चाँदनी शाही, भरत शाही र टेकबहादुर मगरले संयुक्त लगानीमा उक्त खेती सुरु गरेका छन् । बेमौसमी तरकारी खेती उत्पादनका लागि एक बिघा जग्गा १० वर्षका लागि भाडामा लिएर भेडेखुर्सानीको खेती सुरु गरिएको छ । आधुनिक प्रविधिको प्रयोग गर्दै चिसो हावापानीमा फल्ने भेडेखुर्सानीका बेर्ना नेट हाउस (जाली घर) भित्र टनेलमा हुर्कंदै गरेका छन् । थोपा सिँचाइको समेत व्यवस्था भएको नेट हाउस प्रविधिले वातावरण व्यवस्थापन गर्ने भएकाले भेडेखुर्सानी तराईमा पनि उत्पादन हुने व्यवसायीको भनाइ छ । सामान्य ९० दिनमा फल्ने भेडेखुर्सानी तराईमा ११० दिनमा फल्ने प्राविधिकले बताएका छन् । भेडेखुर्सानी भारतबाट आयात भइरहेका बेला कैलालीमा तीन जना युवाले गरेको पहलले केही हदसम्म भेडेखुर्सानीमा आत्मनिर्भर हुन सकिने आशा गरिएको छ ।

विराटनगरको प्राविधिकसहितको टोलीले नेट हाउस निर्माण गरेको बताउँदै अर्का सञ्चालक टेकवहादुर मगरले नेट हाउस (जाली घर) निर्माणका लागि ठूलो रकम खर्च भएको बताएका छन् । उनले नेट हाउस निर्माणमा बयालीस लाख खर्च लागेको र थोपा सिँचाइ जडानमा तीन लाख पचहत्तर हजार लगानी लागेको बताएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्