Logo

सामन्तविरुद्ध लाग्दा कम्युनिष्ट बनेका प्रधानमन्त्री ओली ‘महासामन्त’ मा रुपान्तरण भएकै हुन् ?



रिपोर्टर्स नेपाल, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली सामान्य परिवारमा जन्मिए । तेह्रथुमका इवाइवान तीनसल्लेस्थित उनको जन्म घर देख्दा नै सामान्य परिवारमा हुर्के बढेको देखिन्छ । ओलीले बाल्यकालमा निकै संघर्ष गर्नुपरेको थियो । बाल्यकालमै आमाको निधन भएपछि ओलीले निकै दुःख पाएका थिए ।
किशोरावस्थामै राजनीतिमा प्रवेश गरेपछि उनका दुःखका दिन फेरि बढे । कम्युनिष्ट राजनीतिमा लाग्दा जेलनेल भोगे । १५ वर्ष जेल जीवन बिताए । २०४६ सालको परिवर्तनपछि पनि ओली संघर्षमै केन्द्रित हुनुपर्यो ।

२०५१ सालको मध्यावधि चुनावपछि बनेको तत्कालिन नेकपा एमालेको सरकारमा गहमन्त्री बनेपछि भने ओलीको राजनीतिक उचाई बन्न थाल्यो । उनी गृहमन्त्री बने । त्यसपछि एउटा राजनीतिक शक्तिकेन्द्रका रुपमा रहन थाले ।

ओली बालकोट बस्न थालेपछि उनलाई निकै सौखिन भनियो । कम्युनिष्ट नेताहरुले धमाधम महल ठड्याइरहँदा प्रतिष्पर्धामा ओली पनि देखिए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बने । ओली राजनीतिक घटनाक्रमले प्रधानमन्त्री बने । पहिलोपटक प्रधानमन्त्री बन्दा उनी कुनै ठूलो बिजनेश हाउस नजिक भनिन्थ्यो । दोस्रो पटक प्रधानमन्त्री बन्दा त्यही बिजनेश हाउसलाई लाभ हुनेगरी काम गरेको पुष्टिहरु हुनथाल्यो ।

६९ औं वर्ष प्रवेश गर्दा ओलीको जन्मदिन तामझामका साथ मनाइयो । उनी जन्मघर पुगे । हेलिकोप्टर चाटर्ड गरेर पुगेका उनका लागि विशेष केक मगाइयो । हेलिकोप्टरबाट केक तीनसल्ले पुर्याइएको थियो ।

ओलीले उपचारमा पनि निकै खर्च गरिरहेका छन् । उनको मृगौला प्रत्यारोपण नयाँ दिल्लीमा भयो । त्यसपछिको नियमित चेकजाँच सिंगापुरमा भयो ।

ओलीको जीवनशैली तीनसल्लेबाट बालुवाटार पुग्दा निकै परिवर्तन भइसकेको छ । सामान्य परिवारबाट देशकै शक्तिशाली बन्दा उनको तामझाम मात्र नभई तडकभडक पनि बढेको । सामन्तविरुद्ध कम्युनिष्ट बन्दा आफै महासामन्त बनेको टिप्पणी हुनथालेको छ ।



प्रतिक्रिया दिनुहोस्