Logo

ओली सरकारले अरबौंको स्केलमा भ्रष्टाचार गरेको खतिवडाको आरोप (भिडियोसहित)



काठमाडौं, १२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि खतिवडाले अरबौं अरबमा भ्रष्टाचार गर्न वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनका मन्त्रीहरु असाध्यै लिप्त भएको प्रमाण गोकुल प्रसाद बाँस्कोटाको कमिशन–टेप प्रकरणले पुष्टि गरेको आरोप लगाएका छन् ।

खतिवडाले वर्तमान सरकारले अरबौंको स्केलमा भ्रष्टाचार गरेको कुरा सार्वजनिक लेखा समितिले नै वाईडबडी खरिदमा साँढे चार अर्ब भ्रष्टाचार भएको कुरा रिपोर्ट ल्याएको र त्यो सार्वजनिक लेखा समितिमा नेकपाका पनि सांसदहरु रहेको सुनाउँदै आरोप पुष्टि हुने सुनाए ।

आईतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा खतिवडाले यस्तो बताएका हुन् । खरबौंका आयोजनामा भ्रष्टाचार गर्न लागिएको कुरा बाहिर आएको सुनाउँदै सरकार भ्रष्टाचारमा लिप्त भएको कुरा जगजाहेर भएको उनको भनाई छ ।

प्रधानमन्त्री ओली बेलायत र फ्रान्स भ्रमणमा जाँदा त्यहाँका प्रधानमन्त्री वा महारानीसँग भेट नभएको सुनाउँदै प्रधानमन्त्री त्यतिवेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको लागि गएको कुरा पुष्टि भएको पनि खतिवडाको भनाई छ । उनले भने,‘उहाँले बेलायत र फ्रान्सको त्यो भ्रमणमा दुई करोड पचास लाख खर्च गर्नुभएको रहेछ ।’ वर्तमान सरकारले मुलुकलाई दुई तिहाईले दोहन गरेको गम्भिर आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्