Logo

कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु



फागुन १२, काठमाण्डौ । कोरोना भाइरस फैलिएको दक्षिण कोरियामा रहेका नेपाली कामदारहरु अहिले बन्धक जस्तै बनेका छन् । संक्रमण हुने डरले काममा जान दिइएको छैन । नेपालबाट कोरिया जान उडान निश्चित भइसकेकालाई पनि रोकिएको छ ।

चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय दक्षिण कोरियामा समेत फैलन लागेपछि इपिएस मार्फत कोरिया जान लागेका ४० जना नेपालीको उडान तत्काललाई स्थगित गरिएको छ । उनीहरू फागुन १८ गते नेपालबाट उड्ने तयारीमा थिए । श्रम विभाग अन्तरगत ईपीएस कोरिया शाखाले कोरोना भाइरसको संक्रमण देखिएपछि केही सामाधान नभएसम्म कोरिया कामदार नपठाउने भएको छ । कोरिया सरकारकै समन्वयमा नयाँ कामदारको उडान स्थगित गरिएको शाखाका निर्देशक कृष्ण प्रसाद खनालले बताए ।

पछिल्लो २४ घण्टामा मात्रै कोरियामा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यहाँ रहेका कुनै पनि नेपालीमा भाइरस संक्रमण नभएकाले डराउनुपर्ने अवस्था नरहेको बताएको छ ।

कोरियामा रहेका नेपाली कामदारहरु मिलेसम्म व्यक्तिगत रुपमा विदा मिलाएर नेपाल फर्किने क्रम भने सुरु भएको छ । काठमाण्डौका उज्जल सिटौलाले कम्पनीसँग धेरै विन्ति गरेपछि भोलिका भोलिदेखि लागु हेन गरी डेड महिनाका लागि विदा दिएको जानकारी दिए । भोलि साँझको उडानका लागि टिकट लिइसकेको छु । उनले भने । अरु साथीहरु पनि विदा मिलेसम्म नेपाल फर्किन प्रयासमा रहेको सिटौलाले जानकारी दिए ।

कोरिमामा नै रहेकी सविना कार्कीले पछिल्लो दिनमा काममा जान छोडेर कोठामै बसेको बताइन् । अहिलेसम्म कुनै पनि नेपालीमा संक्रमण नफैलिए पनि त्यहाँ रहेको नेपाली दुतावासले सतर्क रहन सुझाब दिएको कार्कीले बताइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएका हेल्थ डेक्सले कोरिया र चीनबाट आउने नेपालीहरुलाई मात्र चेकजाच गरेको छ । अन्य देशबाट आउने नेपालीलाई भने चेक गरिएको छैन ।

कोरियामा अहिले करिब ४४ हजार नेपाली कामदारहरु रहेकाछन् । ती मध्ये ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर कोरिया पुगेका हुन् भने बाँकी अन्य प्रक्रियामार्फत कोरिया पुगेका हुन् । कमाईको हिसाबले दक्षिण कोरिया आकर्षक गन्तव्यका रुपमा मानिएको भाषा परीक्षा उत्तीर्ण गरेर कृषि र औद्योगिक क्षेत्रमा रोजगारीका लागि लाने गरेको छ ।

खाडी मुलुकमा कम पारिश्रमिकमा धेरै काम गर्नुपर्ने वाध्यता भन्दा कोरियामा श्रम अनुसारको पारिश्रमिक राम्रो हुने भएकाले कोरिया नेपाली कामदारको पहिलो रोजाईमा पर्दै आएको छ । कोरिया सरकारले सन् २००७ यता रोजगार अनुमति प्रणालीमार्फत नेपाली युवालाई लैजान थालेको हो ।



प्रतिक्रिया दिनुहोस्