Logo

हुलाक बचत बैंकको करोडौं रकम हिनामिना गरेकोमा अधिकृत र सुब्बामाथि अख्तियारको आरोपपत्र



काठमाडौं, १२ फागुन । हुलाब बचत बैंकको करोडौं रकम हिनामिना गरेको अभियोगमा जिल्ला हुलाक कार्यालय बझाङ्गका कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । अख्तियारका अनुसार हुलाक वचत बैंकको रकम हिनामिना र हानिनोक्सानी गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निमित्त कार्यालय प्रमुखको रुपमा कार्यरत रहेका रणबहादुर कडायत र सोही कार्यालयमा खरिदार पदमा कार्यरत रही हाल सुर्मा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय बझाङ्गमा नायब सुब्बा पदमा कार्यरत शिवराज उपाध्यायमाथि मुद्दा दायर गरिएको छ ।

उनीहरुले सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्व विपरीत लापरवाही एवं बदनियतपूर्ण रुपमा सार्वजनिक कोषको दुरुपयोग गरी मासेको एवं निजी प्रयोगमा लगाएको तथ्य निर्विवाद रुपमा पुष्टि हुन आएको अख्तियारले जनाएको छ । रणबहादुर कडायतलाई बिगो दुई करोड चौरानब्बे लाख उनानब्बे हजार नौ सय एकहत्तर रुपैयाँ बैसट्ठी पैसा र शिवराज उपाध्यायलाई दुई करोड चौबीस हजार आठ सय उनानसत्तरी रुपैयाँ बयासी पैसा बिगो कायम गरी आरोपपत्र दायर गरेको छ ।
दुवैलाई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्