Logo

नेकपाले नेतृत्त्व व्यवस्थापनको लागि संविधान संशोधनको कुरा गर्नु हाँस्यास्पद : लाल



काठमाडौं, १२ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले संविधान कुनै व्यक्ति, समूह वा राजनीतिक दलको शासन गर्ने औजार नभएको बताएका छन् । उनले वामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याउने र राष्ट्रियसभा सदस्यपनि प्रधानमन्त्री बन्न पाउनेगरि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संविधान संशोधन गरेको प्रयत्नको कडा विरोध गरेका छन् ।

सोमबार साँझ आफ्नो फेशबुकमा लामो स्टाटस पोष्ट गर्दै लालले भनेका छन्‘संविधानमा संशोधनको विषयबारे छलफल वा गृहकार्य गर्ने अधिकार सबैलाई छ तर सत्तासीन राजनीतिक दलले आफ्नो नेतृत्त्वलाई व्यवस्थापन गर्न मात्रको लागि संविधानको संशोधनको कुरा गर्नु आफैंमा हास्यास्पद र संविधानवादको मूल अर्थ विपरितको मानसिकताको द्दोतक हो ।’

हेरौं उनको स्टाटसको पूर्ण अंश :

संविधान देशको मूल कानून हुने हुँदा संविधानसंग जोडिएको कुनै पनि विषय सम्पूर्ण जनताको प्रत्यक्ष सरोकारको विषय हुन्छ । नेपालको वर्त्तमान संविधानको स्वीकार्यता अर्थात् जनवैधतामा अभिवृध्दिको निमित्त जनताको आकांक्षा अनुसार यसको संशोधन र परिमार्जन आवश्यक रहेको तथ्य मधेशी, थारू, आदिवासी(जनजाति, दलित, मुस्लिम सहित सिमान्तकृत समूहहरूको जारी आन्दोलनले स्पष्ट पार्दै आएको छ ।

संविधानको मस्यौदाकै समयदेखि यसले सिमान्तकृत समुदायहरुको आ(आफ्नो क्षेत्रमा पहिचान सहितको स्वायत्तता, स्वशासनको अधिकार, समानुपातिक समावेशिता, जनसंख्याको आधारमा संघीय संसदको दुबै सदनमा प्रतिनिधित्त्व, विविधतापूर्ण नेपालको विभिन्न भाषा र संस्कृतिहरुको संवैधानिक मान्यता लगायतलाई सम्वोधन गर्न नसकेकोले आन्दोलन हुँदै आएको छ । यस बिरोध र आन्दोलनको क्रममा राज्यको दमनले गर्दा ६६ जनाले शहादत प्राप्त गरेका छन् । संविधानको संशोधन आन्दोलनकारीहरूका यी मुद्दाहरुको सम्वोधन निमित्त आवश्यक छ ।

संविधान कुनै व्यक्ति, समूह वा राजनीतिक दलको शासन गर्ने औजार होईन । संविधानमा संशोधनको विषयबारे छलफल वा गृहकार्य गर्ने अधिकार सबैलाई छ तर सत्तासीन राजनीतिक दलले आफ्नो नेतृत्त्वलाई व्यवस्थापन गर्न मात्रको लागि संविधानको संशोधनको कुरा गर्नु आफैंमा हास्यास्पद र संविधानवादको मूल अर्थ विपरितको मानसिकताको द्दोतक हो ।

सत्ताधारी पार्टी संविधानको संशोधन मार्फत संविधानसंग सम्वन्धित यावत् विवादहरुको समाधान गरी विविधताले भरिएको हाम्रो राष्ट्रीयतालाई एकवध्द गर्ने दिशामा योगदान गर्न इमानदार सोच राख्दछ भने त्यस ऐतिहासिक कार्यको निमित्त यो सुनौलो काल हो । यसका निमित्त सत्तापक्ष, विपक्ष र आन्दोलनकारी शक्तिहरूबीच परिणामदायी अन्तर्क्िरया गरी सहमतिको पहल गर्नु आजको आवश्यकता हो ।



प्रतिक्रिया दिनुहोस्