Logo

जेलबाट छुटेपछि पहिलोपटक दाङ पुगेर महराले के भने ? (भिडियोसहित)



फागुन १२, दाङ । पूर्व सभामुख कृष्णबहादुर महराले आफू तीन महिना भूमरीमा परेको गुनासो गरेका छन् । सोमबार गृहजिल्ला पुगेका महराले शुभेच्छुकहरुलाई सम्बोधन गर्दै कसैले षड्यन्त्र गर्दैमा गलत कुरा सही हुन नसक्ने बताए ।

आफूलाई अदालतले न्याय दिएको बताएँदै उनले यो जित जनताहरुको भएको बताए । राष्ट्रिय स्वाधिनताका लागि आफ्नो शिर सधैं ठाडो हुने महराको भनाई थियो ।

बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएपछि पहिलो पटक निर्वाचन क्षेत्रमा पुगेका महराले आफूमाथि ठूलो षड्यन्त्र भएको तर जितेर आएको बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसद महराले भने, ‘तीन महिना जति म भुमरीमा परेँ, जसरी मलाई त्यो भूमरीमा पठाइयो, त्यो लडाई मैले जितेँ । जनताको साथ, सहयोग र समर्थनको बलमा आफूले यो लडाई जितेको उनले सुनाए । महराले भने, ‘जनताको तागतको अगाडि कुनै पनि षड्यन्त्रको जित हुँदैन ।’

आफूमाथि लागेको आरोपबारे अदालतले नै बोलिसकेकाले थप केही नभन्ने उनले बताएका छन् ।

संसदीय सचिवालयकै एक महिला कर्मचारीले बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले १४ असोजमा पदबाट राजीनामा दिएका थिए ।

जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनी १०३ दिन डिल्लीबजार कारागारमा बसे । तर जिल्ला अदालतले सफाइ दिएपछि उनी छुटेका हुन् ।

संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास मुद्दामा तीन महिना जेल परेका महरा अदालतले सफाई दिएपछि पहिलोपटक घर आएका हुन् । बलात्कार मुद्दाका कारण मतदाताबीच रहेको अन्योल मेट्न र आफ्नो समस्या मतदाताबीच राख्न उनी दाङ आएका हुन् ।

उनलाई दाङ प्रवेशबिन्दु धानखोलादेखि नै फूलमाला र बाजागाजाले स्वागत गरिएको थियो । भालुबाङ, लमही, गोग्ली र घोराहीमा सडकमा लामबद्ध कार्यकर्ता र शुभेच्छुकहरुले माला र अबिरसहित महराको स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्