Logo

हेलिकोप्टरबाट सामान खसेको घटनाको छानबिन सुरु



काठमाडौँ, १३ फागुन । उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ । पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीलेले जानकारी दिएका छन् ।

छानबिन समितिका संयोजक लामासहित सदस्य एरोनोटिकल प्राविधिक रिकेश पन्त, कैलाश एयरका सेफ्टी म्यानेजर वरुण ज्ञवाली, प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बु, लुक्ला विमानस्थल प्रमुख इमनाथ अधिकारी, फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्मासहितको टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकन गरेको हो । तेञ्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख अधिकारीका अनुसार काठमाडौँबाट हवाई जहाजमार्फत लुक्ला आएको टोलीले घटनास्थल पुग्न कैलाश एयरकै हेलिकोप्टर प्रयोग गरेको थियो । घना जङ्गल भएकाले हेलिकोप्टर अवतरण गर्ने ठाउँ नभएकाले आकाशबाटै जस्तापाता झरेको स्थानको अवलोकन गरेको टोली पुनः लुक्ला फर्केर बसेको छ । टोली काठमाडौँ फर्केर केही दिनमा प्रतिवेदन बुझाउने नेपाल नागरिक उड्डयन प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रले जानकारी दिए ।

घटनाको विषयमा आफूहरु गम्भीर भएको भन्दै उनले प्रतिवेदनका आधारमा प्राधिकरणले थप निर्णय गर्ने बताए । बारम्बार यस्ता घटना घट्नुले हवाई उडानको समयमा असुरक्षित महसुस भएको स्थानीयको भनाइ छ । शनिबार सोलुदूधकुण्ड नगरपालिका–१ को टाक्सिन्दुबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ दिङ्बोचेका लागि डोरीमा झुण्ड्याएर निर्माणका सामग्री लाँदै गर्दा केही मिनेटपछि लुङ्दीङ जङ्गलमा झरेको थियो । यस विषयमा कैलाश एयर प्रालिका अपरेसन म्यानेजर प्रतापजङ्ग पाण्डले कमजोरीको बचाउ गर्न खोज्दै आफूलाई केही पनि जानकारी नभएको जवाफ दिए । उनले नेपाल बाहिर रहेको भन्दै सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराउने भने पनि अन्तिममा फोनसमेत ‘रिसिभ’ गरेनन । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्