Logo

ओलीप्रतिको आशा यसकारण निराशामा बदलियो



समाचार विश्लेषण । कुनैबेला सबैको आशा र भरोसाका केन्द्र बनेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले सबैभन्दा आलोचित बनेका छन् । उनी कुनै ठूलो काण्ड मच्चाएर आलोचित बनेका होइनन् । सल्लाहकार र विश्वासपात्रहरुको आलाकाँचा गतिविधिका कारण आलोचित हुनपुगेका हुन् । जन्मदिनमा केक काट्दा ओली आलोचित हुनुपरेको छ । उनका सल्लाहकारहरुले देशको नक्शा आकारको केक काट्न हुन्नथियो भन्ने हेक्का समेत राखेनन् । ओलीलाई राजश्री ठाँटका साथ जन्मदिन मनाउन उक्साए ।

नेपालको इतिहासमा शक्तिशाली सरकार गठन भएपछि देशमा विकास, सुशासन र स्थायित्व कायम रहने आशा राखिएको थियो । लामो राजनीतिक अस्थिरताबाट जनता वाक्क दिक्क भएका थिए । देशले दश वर्षे हिंसात्मक द्धन्द्ध भोग्यो, राजाको निरंकुश प्रत्यक्ष शासन भोग्यो । जनआन्दोलनपछि देशमा संक्रमणकालले विकासले गति लिन सकेन र सुशासन कायम हुन सकेन । जनताले लामो प्रतिक्षापछि कम्युनिष्ट पार्टीलाई बहुमत दिए । देशको लोकतान्त्रिक इतिहासमा अहिलेसम्मकै शक्तिशाली सरकार बन्यो । जनता उत्साही भए । विकासले गति लिने आशा गरे । सुख शान्ति र समृद्धिको आशा गर्न थाले । जनताले दुई तिहाई सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीबाट धेरै अपेक्षा गरे । वर्षौं देखि थाती रहेका आयोजनाहरु पूरा हुनेमा ढुक्क भए ।

केपी शर्मा ओली नेतृत्वको सरकारले अहिले दुई वर्षे कार्यकाल पूरा गरेको छ । दुई वर्ष छोटो समय होइन । आधुनिक युगमा दुई वर्षमा धेरै काम गर्न सकिन्छ । चीनले आठ दिनमा एक हजार शैयाको अस्पताल बनाएर देखायो । छिमेकी भारतमा पनि द्रुत विकास भइरहेको छ । सँसारमा नेतृत्वको इच्छाशक्ति, जोस र जाँगर भएमा देशलाई कायापलट गर्न सकिन्छ भन्ने उदाहरणहरु छन् । मलेशियामा महाथीर मोहम्मद, सिंगापुरमा लि क्वान जस्ता शासकले देशको काँचुली फेरेका थिए । ओलीलाई नेपाली जनताले त्यस्तै राजनेताको नजरबाट हेरेका थिए ।

ओलीसँग इच्छाशक्ति नभएको होइन । उनीसँग व्यक्तिगत रुपमा आत्मबल बलियो छ । इच्छाशक्ति, भिजन र मिसन समेत छ । उनीसँग एक्सनमा जाने क्षमता पनि छ । तैपनि, ओली सरकार एकपछि अर्को काण्डहरुमा फस्दै गएको छ । यसको समिक्षाभन्दा ओलीका सल्लाहकारहरु उनलाई घेराबन्दीमा पारेर आफ्नो राजनीतिक र आर्थिक भविष्य सुनिश्चित गर्नेतर्फ सक्रिय भइरहेका छन् । ओलीलाई गलत सल्लाहकारहरुको घेराबन्दीले बर्बाद पार्न खोजिदैछ । अहिले जनमत विस्तारै ओलीविरुद्ध मोडिदै गएको छ । तर, उनका सल्लाहकारहरु गलत सूचना सुनाएर दंग पार्दैछन् । मसिना भन्दा मसिना विषयमा ओलीलाई बदनाम बनाउने गतिविधि भइरहेका छन् । यसतर्फ उनको सल्लाहकार टोलीले ध्यान दिनुको साटो उल्टो ओलीलाई दंग पारेर आफ्नो दुनो सोझ्याइरहेका छन् ।

निश्चियपनि ओली सरकारले देशको अन्तर्राष्ट्रिय मञ्चमा छवि राम्रो बनायो । ट्रान्सपरेन्सी इन्टरनेशनललगायतका संस्थाको रिपोर्टमा नेपाल कम भ्रष्टाचार हुने देशको सूचांकमा प्रगति गर्न सफल भयो । राजनीतिक स्थायित्वका दृष्टिले पनि नेपालले प्रगति हासिल ग¥यो । नेपालमा विकासका ठूला परियोजनाहरु बन्न थाले । अरुण तेस्रो जस्ता परियोजनाले गति लियो । देशको कुना काप्चामा पूर्वाधार विकासले गति लियो । तर, सरकार ठूला काण्डमा मुछियो । मेलम्ची खानेपानी परियोजना दुई वर्ष ढिलो भयो । काठमाडौं उपत्यकाको जनता काकाकुल भइरहे । सरकारले जुन गतिमा काम गर्नुपथ्र्यो त्यो नहुँदा मेलम्चीमा फेरि ढिलाई भयो ।

पछिल्लो समय वाइडबडी, एनसेल कर छलीलगायतका काण्डमा सरकार दरिलो रुपमा प्रस्तुत हुन नसकेको आरोप लाग्यो । देशमा अर्बौंको भ्रष्टाचारका घटना बाहिर आए । विगतमा करोडौंको कमिशन हुनेगरेकोमा अर्बौंको कमिशनको विषय बाहिर आयो । यसमा सरकारकै जिम्मेवार मन्त्री देखि सल्लाहकारहरुको समेत नाम मुछिएको छ । प्रधानमन्त्री ओली स्वयं पवित्र हुन खोजेपनि उनलाई अपवित्र बनाउन उनकै आसेपासे लागेका छन् । प्रधानमन्त्रीको नाम बेचेर उनीहरु भ्रष्टाचार र कमिशनखोरमा लिप्त हुनथालेका छन् । यसले सरकारले गरेका हजारौं सुन्दर कामलाई समेत ओझेलमा पारेको छ । तैपनि, प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पार्नेहरुले वास्तविकता बताउन चाहिरहेका छैनन् । उनीहरु यसरी नै ओलीलाई गलत सल्लाह दिएर लाभ लिइरहेका छन् ।

अहिले अमेरिकी सहयोग सम्बन्धि मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको कारण सरकारलाई असफल बनाउने षड्यन्त्रको गन्ध देखिदैछ । ओली कुनैपनि हालतमा एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा छन् । तर नेकपाभित्र यसको पक्ष विपक्षमा मत देखिएको छ । उनलाई सचिवालयभित्र दरिलो समर्थन इश्वर पोखरेल र विष्णु पौडेलले मात्र दिएका छन् । अन्य नेताहरुको भूमिकाले नेकपाभित्र विवाद बढाउन सक्ने देखिदैछ । आर्थिक समृद्धि, राजनीतिक स्थायित्व र सुशासनमा केन्द्रित हुनुपर्ने सरकार एमसीसीमा अल्झन थालेको छ । यो कदापि शुभ संकेत होइन । नेकपाभित्र जसरी एकपछि अर्को आन्तरिक विवाद जन्मिरहेको छ त्यसले यो शासन प्रणालीका विरोधीहरुलाई उत्साही बनाएको छ ।

देशमा अहिलेपनि गणतन्त्र र संघीयतालाई असफल बनाउन खोज्ने शक्तिहरु टाउको उठाउन खोजिरहेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ । उनी देश दौडाहापछि भारत भ्रमणमा पुगेका छन् । उनको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । पूर्व राजा राजसंस्था ब्युँताउने र हिन्दु राष्ट्र कायम गर्ने पक्षमा सक्रिय भइरहेका छन् । शाहको प्रयासलाई कमजोर आँकलन गरिनुहुन्न । अहिले सत्तारुढ दलभित्रको विवाद, सरकारलाई बदनाम बनाउने योजनावद्ध क्रियाकलापका अलावा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसभित्र उठेको विवादास्पद राजनीतिक एजेन्डाले धेरै शंका उपशंका जन्माएको छ । यी विषयहरुले देश फेरि संकटमा धकेलिने त होइन भन्ने आशंका बढेको छ । संकट जानकारी दिएर मात्र आउँदैन । यसतर्फ जिम्मेवार दलको हैसियतले नेकपाले ध्यान दिन जरुरी छ ।

यो राजनीतिक प्रणाली सुरक्षित भइसक्यो अब जे गर्दा पनि हुन्छ भनेर बढ्न खोजे दुर्घटना हुन्छ । परिवर्तन गरेर मात्र हुँदैन त्यसलाई जोगाउन उत्तिकै कठिन छ भन्ने विश्वका घटनाहरुबाट प्रमाणित भइसकेको छ । यसलाई मनन गरेर बढ्ने मुख्य दायित्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको हो । त्यसपछि नेकपाका अन्य जिम्मेवार नेताहरुको हो । बेलैमा सुझबुझ राखेर बढेमा नेकपाले देशलाई विकास, समृद्धि र सुशासन दिएर कायापलट गर्न सक्छ । होइन भने राजनीतिक प्रणालीमाथि नै प्रहार भई देश नयाँ संकटमा धकेलिन्छ ।



प्रतिक्रिया दिनुहोस्