Logo

ट्रम्प भारतमा, त्रास नेपालमा



काठमाडौं, १३ फागुन : नेपाल र भुटान भन्ने देशलाई भारतअन्तर्गत नै पर्ने ठानेर दुई वर्षअघि भाषण गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकै विवादमा तानिए । त्यो उनको अर्धज्ञानको परिणाम थियो । तीनै ट्रम्प यतिबेला छिमेकी देश भारत भ्रमणमा आएका छन् । सोमबार उनी सपरिवार दुई दिने भारत भ्रमणमा आएका हुन् । सायद भारत आएपछि उनले नेपाल र भुटान छुट्टै देश भएको थाहा पाए होलान् ।

यता ट्रम्प भारतमा आउँदा त्यसको असर नेपालमा समेत देखिएको छ । सीमा क्षेत्रमा बिशेष सतर्कता अपनाइएको छ भने शंकास्पद व्यक्तिहरुमाथि नेपालमा समेत निगरानी बढाइएको छ ।

खासगरी ट्रम्पलाई लक्षित गरी कुनै आतंकवादी समूहले बिष्फोटन लगायतका गतिविधि गर्न सक्ने भएकाले नेपालको सीमामा समेत सतर्कता अपनाइएको हो । एक साताअघिदेखि नै नेपाल प्रहरीको बिशेष ब्युरोले यसतर्फ अनुसन्धान गरेको स्रोत बताउँछ ।

ट्रम्प विश्वमै सबैभन्दा धेरै सुरक्षा चुनौती भएका व्यक्ति हुन् । त्यसो त उनको सुरक्षामा सर्वाधिक खर्च समेत हुने गरेको छ । उनको सुरक्षाका लागि अमेरिकाबाटै छुट्टै विमानमा सुरक्षाकर्मीहरु भारत आएका थिए । अमेरिकाबाटै उनी चढ्ने ‘विष्ट’ नामक विशेष गाडी र चालक ल्याइएको थियो । आठ इन्च बाक्लो ढोका भएको सो गाडीलाई बम बिष्फोटले समेत असर गर्दैन । त्यसका लागि ट्रम्पको सुरक्षामा भारतमा पनि हजारौं सुरक्षाकर्मी खटाइएको छ ।

पछिल्लो समय केही इस्लामिक संगठनहरुले नेपाललाई आधारभूमि बनाइरहेका छन् । खुला सिमानाका कारण उनीहरुलाई नेपाल सहज भएको छ । तर, सीमा व्यवस्थानका लागि ध्यान दिनुभन्दा भारतले आतंकवादीलाई आधार दिएको भन्दै नेपालमाथि आरोप लगाउने गरेको छ । आतंकवादी गतिविधिमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका केही व्यक्तिहरु नेपालमा पक्राउ परेपनि उनीहरुले नेपाललाई लक्षित गरेर कुनै गतिविधि भने नगरेको बताइन्छ । यद्यपि नेपाल जस्ता देशलाई प्रयोग गरी केही आतंकवादी समूहले आफ्नो सक्रियता देखाउने जोखिम रहेको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले दुई महिनाअघि मात्र नेपाल प्रहरीलाई सतर्कता बढाउन आग्रह गरेको थियो । खासगरी नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षालाई मजबुत बनाउन भारत तथा अमेरिकाले दबाब दिदै आएका छन् ।दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्