Logo

कालापानीमा सीमा सुरक्षाचौकी राख्नुपर्छ : रावल



काठमाडौँ, १३ फागुन : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले दार्चुलाका कालापानी, लिपुलेक तथा लिम्पुयाधुरा क्षेत्रमा भारतीय पक्षबाट सीमा अतिक्रमणलगायत घटनालाई कूटनीतिक पहलमार्फत रोक्न सरकारको ध्यानाकर्षण गराए । उनले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सीमा सुरक्षाचौकी स्थापना गर्नका लागि तदारुकताका देखाउन माग गरे ।

सीमा सुरक्षा सर्वाधिक प्राथमिकतामा पर्ने भएकाले उल्लेख्य बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए । भारतीय फौजको उपस्थिति हटाउन भारतलाई पत्राचार गर्न पनि उनले आग्रह गरे । प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्ने र असमान सन्धिसम्झौता पुनरवलोकन गर्ने सम्बन्धमा सदनलाई जानकारी गराउन उनले सरकारसँग माग गरे । नागरिकता विधेयकलाई अविलम्ब अघि बढाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका गगनकुमार थापाले जनचासोका विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताए । “प्रधानमन्त्री सदनमा आउनुपर्छ”, उनले भने, “ उनले प्रतिपक्षको प्रश्नको सामना गर्नुपर्छ ।” सांसद थापाले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउनका लागि ‘रुलिङ’ गर्न सभामुखको ध्यानाकर्षण गराए । भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने प्रधानमन्त्रीको अभिव्यक्ति व्यवहारमा नदेखिएको आरोप पनि उनले लगाए ।



प्रतिक्रिया दिनुहोस्