Logo

नेपाललाई हिन्दूराष्ट्र बनाउन जनमतसंग्रह गराउनुपर्ने विश्व भूमि पार्टी नेपालकोे माग



काठमाडौँ, १३ फागुन । विश्व भूमि पार्टी नेपालले नेपाललाई हिन्दूराष्ट्र बनाउनकोलागि तत्काल जनमतसंग्रह गराउनुपर्ने माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त पार्टीले तत्कालै जनमतसंग्रह गराउनुपर्ने माग गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा नेपालको नक्साको केक काटेर जन्मदिन मनाउनु भनेको नेपाल भूमिलाई नै काटेर उत्सव मनाएको भन्दै उक्त पार्टीले घोर आपत्ति जनाएको छ । तात्कालिन् कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ११ बर्षे जनयूद्व कालमा मारिएका मध्ये पाँच हजार जनाको जिम्मा लिएका प्रचण्डमाथि पनि कारवाही गर्नुपर्ने पार्टी अध्यक्ष होम बहादुर कार्कीले माग गरे ।

उनले नेपाललाई तुरुन्तै हिन्दूराष्ट्र बनाउनुपर्नेमा नेपालीवासीको ध्यानाकर्षण गराए । उनले भने,‘नेपालको नक्साजस्तै केक बनाएर जन्मदिन मनाईयो, यसले नेपाललाई प्रधानमन्त्री ओलीले टुक्राउन खोजेको पुष्टि हुन्छ, तत्काल प्रधानमन्त्री ओलीलाई जेल हाल्नुपर्छ ।’ साधुसन्तहरुलाई यातायातमा ५० प्रतिशत छुट हुनुपर्ने भन्दै त्यसतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए । उनले साधुसन्तहरुको लागि खान, बस्नको लागि सरकारले व्यवस्था गर्नुपर्ने माग अघि सारेका हुन ।

विश्वका ठूला राष्ट्रहरुले सानो राष्ट्रलाई सिध्याउन कोरोना भाइरस जस्ता विषालु पर्दाथ वायुमण्डलमा ग्यासको माध्मबाट फैलाएको समेत उनको टिप्पणी छ । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालमा पारित भए अबको दश वर्षमा नेपालनै नरहने समेत उनले ठोकुवा गरे ।

एमसीसीलाई संसदबाट पारित गर्न नदिन सम्पूर्ण देशवासीलाई एकजुट भएर सडकमा आउन समेत उनले आग्रह गरेका छन् । आगामी चैत २१ गते रामेछापको थानापति महादेवको मन्दिरबाट जल ल्याएर दिनरात पैदल यात्रा गरेर पशुपतिनाथमा जल चढाउने आफ्नो योजना रहेको पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्