Logo

खुशीले सृजनाको अन्त गर्छ- नरेश राई, साहित्यकार



यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो ?
विक्रम सम्वत् २०४५ बाट सुरु भएको हो ।
कसबाट र कसरी प्रभावित हुनुभयो ?
उबेला भोजपुर जिल्लामा कम्युनिष्ट पार्टीले भूमिगत रूपमा आफ्नो संगठन गाउँमा निर्माण गरिरहेको रहेछ अहिले बुझ्दा । त्यही सेरोफेरोमा ‘गोरेटोमा चालेका पाइलाहरु’ नामक संयुक्त कवितासंग्रह भोजपुरबाट प्रकाशन भएको थियो । नेकपाका केन्द्रीय सदस्य अजम्बर राई काङमाङ, कवि विप्लक ढकाल, कवि मणि राई, छत्रदेव राई, उपप्राध्यापक कमलजंग राईलगायतका कविता थिए । त्यही संग्रहका कविताहरु नै मेरो लागि लेखनको पहिलो प्रेरणाको स्रोत भयो ।
वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
खुसीले सृजनाको अन्त्य गर्छ । लेख्नुपर्ने धेरै विषय बाँकी छन् । र नेपाली साहित्य राम्रो हुँदै गएता पनि अनुवादको माध्यमबाट अन्य देशमा जति पुग्नुपर्ने हो– त्यति भएको छैन । बिस्तारै पुग्ला भन्ने विश्वास गरौ । मार्जिनलाइज समुदायबारे नेपाली साहित्य लेखन विस्तारै आउँदैछ । यो आइसकेपछि निकै मज्जाले अन्तराष्ट्रियकरण हुन्छ भन्ने लाग्छ ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
किरात राई भाषीहरुको जन्मदेखि मृत्यु संस्कारसम्बन्धी एउटा रिसर्च गर्दै छु र एउटा नेपाली मुभीको लागि काम गर्ने जमर्कोमा छु ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
साहित्य राष्ट्रको बौद्धिक सम्पत्ति भएकोले साहित्य र स्रष्टाप्रति राष्ट्र उत्तरदायी हुनुपर्छ ।
तपार्ईंंको साहित्यिक आदर्श के हो ?
साहित्यमा आदर्श हुन्छ कि साहित्यले आदर्श जन्माउँछ– यो निकै गम्भीर प्रश्न हो । साहित्यको क्षेत्रमा मात्र हैन– सबै विषयको मानकत्वचाहिं पहिचान (आइडेन्टी) नै हो । हरेक सृजना गर्ने व्यक्तिले आफ्नो छुटै पहिचान स्थापित गराउन प्रयास गरिरहेको हुन्छ । उसको अभ्यासले जन्मिएको सृजना अरुका लागि आदर्श हुन सक्छ । मेरो सृजनाको आदर्श दुरदराजमा बाँचिरहेका अर्गानिक समुदाय र तिनको जीवनशैली नै हो ।
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ? तपार्ईंं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
आ÷आफ्नो ठाउँबाट लेखकहरुले आफ्नो दायित्व वहन गरिरहेकै हुन्छन् । लेखनको कुन विषयचाहिँ लेखकको दायित्व हो र कुनचाहिँ हैन भन्नुभन्दा पनि सृजना गर्नुको अभ्यास नै प्रमुख विषय हो ।
सृजनाबाट नै उसले दायित्वबोध गर्ने र अरुलाई गराउने हो । लेख्नुपर्ने धेरै विषय बाँकी नै छन् । बिस्तारै आफ्ना कृतिबाट खुसी भइएला ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
भूतभन्दा वर्तमान बलियो हुन्छ नै । वर्तमान भन्दा भविष्य । हिजो एउटा समुदायका लेखकमात्र धेरै थिए । अहिले विभिन्न समुदायका लेखक थपिएका छन् । आर्थिक रूपमा पनि हिजो लेखेर बाँच्न कठिन थियो । अहिलेका लेखक लेखेरै बाँचिरहेका छन् । एउटा अभिनेता र अभिनेत्री भन्दा कमको लवाइखवाइमा छैनन् अहिले उनीहरु ।
तपार्ईंंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
साहित्य सबैको लेखियोस र होस् ।
लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ ?
लेखकले बाँचेको धरातल, परिवेश, समाज आदिले दिन्छ होला ।
तपाईंँको लेख्ने निश्चित समय छ कि ?
छैन ।
लेख्न कस्तो वातावरण चाहिन्छ ?
जन्मेको घर र गाउँ जब आँखामा आउन थाल्छ– लेख्नका लागि अन्य वातावरणभन्दा अनुकूल समय लाग्छ ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
विशेषगरी किनारामा पु¥याइएका समुदायको विषयमा लेख्ने प्रयास गर्छुु । त्यसमा पनि युद्ध साहित्य मेरो धेरैजसो लेखनको विषय हुन्छ ।
सफल स्रष्टाका आवश्यक गुण के÷के हुन् ?
स्रष्टाको सृजना नै उसको शक्ति हो ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
संसारमा धेरै पढिने विधा आख्यान नै हो । अझ त्यसमा पनि ‘नन फिक्सन’का पाठक धेरै छन् जस्तो लाग्छ ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
सजीवता र काल्पनिकता कुन धेरै वा थोरै भन्ने प्रश्नको उत्तरचाहिँ स्रष्टाको सृजनाले भन्ने कुरो होला ।
लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
दुखी मान्छे अन्यायमा परेको दृश्यले मलाई केही त लेख्नै पर्छ भन्ने निर्देशन गर्छ र प्रेसर दिन्छ ।
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
अध्यायन गर्ने बानी नै सृजनाको मलिलो माटो हो । दिनमा एक घण्टामात्र पढ्न सकिए लेखनमा धेरै टेवा पु¥याउँछ ।
किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?
आफ्नो क्षमता बुझ्न नसक्ने स्रष्टाले मान, मर्यादा र प्रतिष्ठाको लागि अनावश्यक रहर पूरा गर्न त्यसो गरेका होलान् । अर्को विषय हाम्रो देशको राज्यसत्ता नै सामन्तवादी छ । सामन्तवादी राज्यसत्ताकालमा मान्छेले पुँजीपति बन्ने रहरमा पनि त्यस्तो काम गर्छ ।
नामः काङमाङ नरेश राई
पिता÷माताः श्री कृष्णबहादुर राई, कृष्णकुमारी राई
जन्मस्थानः टेम्के मैयुङ् गाउँपालिका दिल्पा नागी–४ भोजपुर ।
अध्ययन ः आईए
प्रथम प्रकाशित रचना ः निर्दोष आमाको हत्या (कविता) ।
प्रकाशित कृतिहरु ः
आँसुको दोभान कवितासंग्रह विक्रम सम्वत् (२०६१)
अनुहारमा लुकाइएका चोटहरु कवितासंग्रह वि.सं (२०६५)
युद्ध बोकेको सिताङ युद्ध उपन्यास वि.सं (२०६८)
खुकुरीको धारमा दुई शताब्दी वि.सं (२०७१)
लाहुरेका युद्धकथा र व्यथाहरु फियरलेस वरिवर (अंग्रेजी भाषामा) सन (२०१५) बेलायतको प्रकाशन हाउस ओलम्पियाबाट
पप्पी फुल कवितासंग्रह वि.सं (२०७४)
एघार नोभेम्बर कथासंग्रह वि.सं (२०७६)
संलग्नताः
पहिचान पुरस्कार संस्थापक (२०१५) राशि अहिले रु ४,०२,००२ ।
भोजपुर प्रतिभा प्रतिष्ठान संस्थापक (सचिव हाल… सचिव २००८)
प्रस्तुतीः जयराम सापकोटा



प्रतिक्रिया दिनुहोस्