Logo

फोहोर व्यवस्थापनमा मध्यपुरको सफलता



काठमाडौँ, १४ फागुन । घरबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या भइरहेका बेला मध्यपुर थिमि नगरपालिकाले फोहोरलाई वरदान सावित गराएको छ । जापानी प्रविधिबाट बिनारसायन प्रयोग गरी कुहिने फोहोरलाई स्थानीय स्तरमा नै प्राङ्गारिक मल उत्पादन गरी फोहोर व्यवस्थापन गरिएको हो ।

नगरपालिका–४ स्थित विष्णुकुण्ड क्षेत्रको चार रोपनी सार्वजनिक जमिनमा जापानी प्रविधिको कम्पोस्ट मल उत्पादन केन्द्र निर्माण गरिएको छ । एक किलो फोहोरबाट एक किलो नै प्राङ्गारिक मल उत्पादन गर्न सकिने र प्रतिकिलो मलको ५० रुपियाँमा धमाधम बिक्री भइरहेको छ । दुई वर्षअघि सुरु गरिएको जापानी कम्पोस्ट प्रविधिबाट बनाइएको प्राङ्गारिक मलको फोहोर व्यवस्थापन अहिले सफल सावित भएको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।  नगरपालिकाको आर्थिक लगानी र रिकिसि प्रा.लि.को प्राविधिक सहयोगमा अर्गानिक मल उत्पादन गरिएको हो । रिकिसि प्रा।लि।का प्रबन्ध निर्देशक उषा गिरीले नेपालजस्तो कृषिप्रधान र सहरोन्मुख देशमा जापानी प्रविधिको कम्पोस्ट मल उत्पादन वरदान सावित हुने बताएका छन् । दस वर्षसम्म जापानमा उक्त मल उत्पादनसम्बन्धी अध्ययन र अनुसन्धान गर्दै उनले मध्यपुर थिमि नगरपालिकामा सुरु गरिएको उक्त काम पूर्णरूपमा सफल भएपछि अहिले मल उत्पादन आकर्षण केन्द्रका रूपमा विकास हुँदै गएको छ ।

उनले भने, “काठमाडौँको फोहोर सिसडोलमा अटाउन छाडेपछि त्यसको विकल्प खोजिरहेको काठमाडौंँ महानगरपालिकाले यो प्रविधि प्रयोग गरी सजिलै मल उत्पादन गरी आर्थिक लाभ लिन सक्छ ।” थिमिमा दुई हजार घरधुरी उक्त कम्पनीको सदस्य बनेका छन् भने यस वर्षभित्र पाँच हजार घरधुरीलाई सदस्य बनाउने नगरपालिकाको योजना छ । मल उत्पादनका लागि सबै भौतिक संरचना नगरपालिकाले निर्माण गरेको र नाफाको १५ प्रतिशत रकम कम्पनीले नगरपालिकालाई प्रदान गर्नुपर्नेछ । अहिले वार्षिक दस टन मल उत्पादन हुने गरेको छ । उत्पादित मल काभ्रे, सिन्धुपाल्चोक र धनकुटाको व्यावसायिक तरकारी खेतीमा प्रयोग हुँदै आएको जनाइएको छ । (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्