Logo

अमेरिकी नीतिमा भारतको साथ



नयाँ दिल्ली, १४ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको ‘इन्डो प्यासिफिक रणनीति’ (आईपीएस) विश्व हितमा रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणको दोस्रो दिन आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो धारणा बाहिर ल्याएका हुन्। उनले भारत र अमेरिकाबीचको सहयोग समान लोकतान्त्रिक मूल्य र उद्देश्यमा आधारित रहेको स्पष्ट पारे।

‘हामी दुवै मुलुक विश्वमा कनेक्टिभिटी र पूर्वाधार विकासमा दिगो तथा पारदर्शी वित्तीय लगानीका लागि सहमत छौं। हाम्रो आपसी तालमेल दुई मुलुकका लागि मात्र नभएर विश्वकै हितमा छ,’, मोदीले भने। चीनले सन् २०१३ मा ल्याएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) रणनीतिमा भारतको समर्थन नभएको अवस्थामा मोदीले अमेरिकालाई आईपीएसमा खुला साथ दिएका हुन्। एसिया, युरोप, अफ्रिकालगायत ७० भन्दा बढी मुलुकमा बीआरआई रणनीतिअनुरूप आफ्नो शक्ति विस्तार गरिरहेको चीनलाई टक्कर दिन अमेरिकाले ल्याएको आईपीएसमा भारतको साथ स्वाभाविक देखिएको छ। चीनले बीआरआईलाई विश्वव्यापी हितमा बताइरहँदा भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पसँगै उभिएर आईपीएस विश्व हितमा रहेको बताएका छन्।

दुई देशबीच आपसी सम्बन्धलाई रणनीतिक साझेदारीका रूपमा अघि बढाउने सहमति भएको छ। ठूला व्यापारिक सम्झौताका लागि वाणिज्यमन्त्रीस्तरीय वार्तामा भएका सहमतिलाई कानुनी रूप दिने सहमति भएको मोदीले बताए। (अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्