Logo

आठबिसकोटले बनायो दुई पाइलट



काठमाडौँ, १४ फागुन । स्कुले बेलामा उनलाई ‘ठूलो भएर के बन्ने’ भनेर कसैले सोध्यो भने झट्ट जवाफ दिन्थे– ‘पाइलट बन्छु, हवाईजहाज उडाउँछु ।’ जब उच्चशिक्षाका लागि काठमाडौं आइपुगेर कलेज टेके, त्यसपछि के बन्छु भन्ने प्रश्नमा उनको उत्तर अलमलियो किनभने उनलाई पाइलट बन्न लाग्ने खर्च हाल्न आमाबुवाको क्षमता थिएन ।

राजधानीमा बीएस्सी पढ्दै गरेका रुकुम पश्चिमको आठबिसकोट–५ मिगृका ललित भण्डारी र वडा १० का गोविन्द केसीका बाल्यकालका सपना समान थिए र आर्थिक हैसियत पनि उस्तै । गाउँमा कुरा चल्यो । जनप्रतिनिधिसम्म कुरा पुग्यो । त्यसपछि नगरपालिकाले उपाय निकाल्यो– उच्चशिक्षा पढ्न चाहनेलाई सघाउने । यतिबेला भण्डारी र केसीले भर्खरै पाइलटको कोर्स पूरा गरेका छन् । अध्ययन र तालिमका लागि नगरपालिकाले एक करोड रुपैयाँ ऋण सहयोग गरेपछि १४ महिने कोर्स पूरा गर्न सम्भव भएको हो । फिलिपिन्सबाट घर फिरेका उनीहरू अब हवाईसेवा कम्पनीले पाइलट माग्दा जान तयार छन् । ‘सानैदेखि पाइलट बन्ने रहर थियो, पैसा थिएन,’ भण्डारीले भने, ‘नगरपालिकाले सहयोग गरेपछि मेरो सपना पूरा गर्न सम्भव भएको हो ।’

भण्डारी र केसीले फिलिपिन्सको रोयल फ्लाइट ट्रेनिङ एकेडेमीबाट पाइलट कोर्स गरेका हुन् । नगरपालिकाले उनीहरूलाई ५० र ५० लाख रुपैयाँ ऋण दिएको छ । स्थानीय आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामार्फत बिनाब्याज ऋण पाएपछि पाइलट पढ्न पाएका हुन् । पाइलट पढ्न चाहनेका लागि दिइने ऋण धितो जमानीमा दिने व्यवस्था गरिए पनि लिनेले ब्याज तिर्नु पर्दैन । पढेर जागिरमा जोडिएपछि ऋण तिर्ने किस्ता सुरु हुन्छ । अब उनीहरूले नेपालमा नागरिक उड्डयन प्राधिकरणको उडान अनुमतिसम्बन्धी परीक्षा दिनुपर्छ । त्यो पास भएपछि नेपाली आकाशमा उडानका लागि योग्य हुने केसीले बताए । ‘नगरपालिकाले बिनाब्याज ऋण दिएर ठूलो गुन लगाएको छ,’ उनले भने, ‘त्यति पैसा नजुटेको भए पढ्न जान सम्भव थिएन । काममा लागेपछि मात्रै ऋण तिर्न सुरु हुने भएकाले धेरै ठूलो गुन लाग्यो ।’ तालिमका क्रममा दुवै जनाले २ सय २० घण्टा विमान उडाएको उनले बताए । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्