Logo

श्रीमतीको झोलामा लाइसेन्स छुटेपछि………



काठमाडौँ, १४ फागुन । प्रहरी वृत्त थानकोटको क्यान्टिनमा एउटा समूह मलिन आवाजमा कुरा गरिरहेका थिए । एक जना पुरुष भने नेपाली कागजमा घटना विवरण लेखिरहेका थिए । एउटी महिला हातमा पानीको बोतल लिएर सुक सुकाइरहेकी थिइन् ।

अरू दुई महिलाचाहिँ उनलाई सम्झाइरहेकी थिइन् । कलंकीमा सोमबार भएको दुर्घटनामा श्रीमान् शम्शेर गुरुङको मृत्यु भएपछि रिता गुरुङ बहिनी र आफन्तसहित प्रहरी कार्यालयमा उजुरी गर्न पुगेकी थिइन् । जुन दुर्घटनाले ११ वर्षदेखिको रिता र शम्शेरको सम्बन्ध टुटाएको छ । शम्शेर ट्रक चालक थिए । झापाबाट सिमेन्टको कच्चा पदार्थ हेटौंडामा झारे अनि त्यहाँबाट सिमेन्ट लिएर सोमबार अपराह्न काठमाडौं आइपुगे । उनीसँगै रिता पनि गएकी थिइन् । बालकुमारीमा सामान झारेर शम्शेर थानकोटको ग्यारेजतिर लागे । रिता भने कलंकी झरेर गोंगबुस्थित कोठातिर । शम्शेरले गाडी ग्यारेजमा राखेर फर्कने बताएका थिए । तर, नवलपरासीमा सिमेन्ट लिने ट्रिप पाएको भन्दै शम्शेरले रितालाई फोन गरे । उनी गाडी लिएर नागढुंगा पुगेपछि सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० त रिताको झोलामा परेको थाहा पाए । झापाबाट फर्कंदा हेटौंडामा शम्शेरले आफ्नो लाइसेन्स रितालाई राख्न दिएका थिए ।

ब्लुबुक पनि ट्राफिक प्रहरीले लिएपछि उनी कागजपत्रविहीन भएका थिए । अनि गाडी फर्काएर ग्यारेजमा थन्क्याए । ‘ब्लुबुक लिए पनि चिट नदिएपछि ट्राफिक प्रहरी खोज्दै नागढुंगातिर गएका थिए । ब्लुबुक लिने ट्राफिक प्रहरी नभेटेपछि फकिएर ग्यारेजमै आए,’ ट्रक धनी निरनकुमार प्रधानले भने, ‘मेरो एउटा सामान छुटेको छ । सामान लिन घर जानुपर्ने भयो भनेर मेरो स्कुटर लिएर कलंकीतिर आएको थियो । दुर्घटनामा परेछ ।’ शम्शेरले श्रीमती रितालाई लाइसेन्स लिएर कलंकीसम्म आउन अर्‍हाएका रहेछन् । थानकोट–कलंकी साँझको जाममा बा ४४ प १८१० नम्बरको स्कुटर लिएर उनी कलंकीतिर आउँदै थिए । रिता पनि चिनजानको दाइको मोटरसाइकलमा कलंकीतिर आइरहेकी थिइन् । गंगबुबाट नयाँबसपार्क आएदेखि रिताले शम्शेरलाई फोन गर्न थालिन् । तर, फोन उठेन । ‘कति पटक फोन गरेँ । कहिले लागेन । कहिले घण्टी जान्थ्यो उठ्दैन्थ्यो,’ रिताले भनिन्, ‘बाफल आएर फेरि फोन गरे तर, फोन अर्कै मान्छेले उठाएर उहाँ दुर्घटनामा पर्नुभएको छ तपाईं वीर अस्पताल आउनुस् भन्दा त होसहवास उड्यो ।’ फोनमा कुरा हुँदा शम्शेर र रिताबीच कलंकीमा भेट्ने कुरा भएको थियो । तर, कलंकी पुग्न करिब ५०० मिटर मात्रै बाँकी छँदा ढुंगेअड्डाको ओरालोबाट खडकुले पुल नपुग्दै पछाडिबाट ना ६ ख २८७१ नम्बरको अनियन्त्रित ट्रकले शम्शेर चढेको स्कुटरलाई ठक्कर दियो । उनीभन्दा अघिअघि बा १५ ख ४५४३ नम्बरको स्कारपियो जिप अमृतबहादुर थापामगरले चलाइरहेका थिए । त्यही जिप र ट्रकको बीचमा च्यापिएर उनले ज्यान गुमाए ।

घटना भएको आधा घण्टापछि मात्रै रिताले शम्शेरको दुर्घटना भएको थाहा पाइन् । अस्पतालमा पुगेपछि जब उनलाई भेट्न दिइएन, त्यसपछि उनको मनमा चिसो पस्यो । आफन्तलाई फोन गर्न थालिन् । ५ कक्षामा अध्ययन गर्ने १० वर्षे छोरा पनि अस्पताल आइपुगे । शम्सेरको भने अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको थियो । ‘हामी कलंकीबाट छुटेको डेढ घण्टा पनि नभई यस्तो घटना भयो,’ उनले रुँदै भनिन्, ‘अब हाम्रो विजोग हुन्छ ।’ उनी शम्शेरकी दोस्रो श्रीमती हुन् । चितवन कालिका नगरपालिका ४ शक्तिखोरमा जेठी श्रीमती र दुई सन्तान छन् । बिहे गरेको ५ वर्षमा मात्रै रिताले शम्शेरको अर्कीे पनि श्रीमती भएको थाहा पाइन् । शम्शेरका दाजुभाइ र अर्कीे श्रीमतीसमेत गाउँमा भएपछि रिता प्रहरीमा चालकविरुद्ध जाहेरी दिन पनि डराएकी हुन् । आउन सक्ने अबगालबाट जोगिन गाउँबाट कोही नआएसम्म प्रहरीमा जोहरी दिन पनि चाहेकी थिइनन् । चालक वीरेन्द्र साह प्रहरी हिरासतमा छन् । सर्लाहीबाट आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रक अनियन्त्रित हुँदा १२ वटा सवारीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी ९ जना घाइते छन् । ढुंगेअड्डाको ओरालो सुरु भएदेखि अनियन्त्रित भएको ट्रक कालिका पेट्रोल पम्प अगाडि स्कारपियोमा ठोक्किएपछि मात्रै रोकिएको ट्राफिक प्रहरी वृत्त कलंकीका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्