Logo

‘मोहीका नाममा दर्ता जग्गा ट्रस्टकै’



काठमाडौँ, १४ फागुन । नेपाल ट्रस्टले राजधानीको सतुंगल, मातातीर्थलगायत क्षेत्रमा रहेको आफ्नो १७४ रोपनी जग्गा कानुनविपरीत मोहीका नाममा गएको दाबी गरेको छ । ट्रस्ट सञ्चालक समितिका अध्यक्ष उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस विषयमा सरकारी, सार्वजनिक तथा गुठी जग्गा छानबिन आयोगले छानबिन गरिरहेको जानकारी दिए ।

‘के हुनुपर्थ्यो, त्यतिबेला को प्रधानमन्त्री हुनुहुन्थ्यो, मलाई नसोध्नुस् । सबै विवरण हेरेर विचार गर्नुहोला । मोही लागेर गएको जग्गा १७४ रोपनी नै हो । त्यसरी जानु हुँदैनथ्यो भनेर हामीले उजुरी दिएका हौं,’ उनले भने । उपप्रधानमन्त्री पोखरेलले संकेत गरेको निर्णय हुँदा बाबुराम भट्टराई प्रधानमन्त्री थिए । यसअघिका सरकारले गरेका निर्णयमा पनि अहिलेकै सरकार मुछिएको भन्दै उनले तत्कालीन सरकारतिर संकेत गरेका हुन् । उपप्रधानमन्त्री पोखरेलले छानबिन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग विवरण मागेको पनि बताए । आयोगका अध्यक्ष मोहनरमण भट्टराईले यसको पुष्टि गरे । ‘हाम्रो जग्गा गैरकानुनी रूपमा मोहीहरूका नाममा दर्ता भयो भन्ने नेपाल ट्रस्टको दाबीसहित उजुरी परेको हो, छानबिनका क्रममा सबै विवरण मगाइएको छ,’ उनले भने, ‘सबै विषयवस्तु अध्ययन गरेपछि मात्रै बाँकी कुरा थाहा होला ।’

तत्कालीन मन्त्रिपरिषद्ले २०६९ सालमा नेपाल ट्रस्टका नाममा ल्याएको दिवंगत राजा वीरेन्द्र र उनको परिवारका नाममा भएको १७४ रोपनी जग्गा छानबिन गरी मोहीको हक कायम हुने भए उनीहरूका नाममा दर्ता गर्ने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा कलंकी मालपोत कार्यालयबाट २०७० सालमा धमाधम मोहीका नाममा जग्गा दर्ता गरिएको हो । १७३ रोपनी १५ आना जग्गालाई ट्रस्टले सालाखाला १७४ रोपनी भनी उल्लेख गरेको छ । काठमाडौंको साविक मातातीर्थ, थानकोट, सतुंगल, इचंगु गाविसको जग्गा मोहीका नाममा दर्ता गरिएको हो । नेपाल ट्रस्ट ऐनले सम्पत्ति बिक्री वितरण र भोगाधिकारमा प्रतिबन्ध लगाएको छ । तत्कालीन प्रधानमन्त्री भट्टराईले कान्तिपुरसँग किसान र मोहीको हकका विषयमा आफू स्पष्ट रहेको बताएका थिए । ‘हामी त मोहियानी हकको पक्षमा थियौं र छौं,’ उनले भनेका थिए, ‘राजा महाराजाको जग्गा मोहीहरूले कमाइरहेका छन् तर उनीहरूको अधिकार छैन । स्वतस् मोहीहरूको अधिकार हुनुपर्छ भन्ने सैद्धान्तिक कुरा हो ।

तर विस्तृत रूपमा नहेरी केही भन्न सकिन्न ।’ ट्रस्टले सार्वजनिक गरेको ‘सम्पत्ति व्यवस्थापनसम्बन्धी तथ्य विवरण’ मा २१ हजार ५ सय ६२ रोपनी चार आना जग्गा आफ्ना नाममा आएको उल्लेख छ । केही ठाउँमा दर्ता छुटेको वा थप फेला पर्ने सम्भावना पनि रहेको पोखरेलले बताए । विवरणअनुसार गत वर्ष करिब ७० रोपनी जग्गा ट्रस्टका नाममा थपिएको थियो । ट्रस्टका अनुसार विभिन्न बैंक खातामा करिब ८० करोड रुपैयाँ बचत भएको छ । पोखरेलले अब कार्यविधि बनाएर शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकासमा लगानी गर्ने सोच बनाएको जानकारी दिए । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्