Logo

टुँडिखेलमा संस्कृति ज्ञान परीक्षा



काठमाडौँ, १४ फागुन । काठमाडौँको टुँडिखेलमा तीन जिल्लाका २२९ विद्यालयबाट ६,५७८ विद्यार्थीले  संस्कृति ज्ञान परीक्षामा सहभागिता जनाएको छ । स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा नाम दिएको उक्त परीक्षा भव्यताका साथ सम्पन्न भएको छ ।

हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा भएको उक्त परीक्षामा विद्यार्थीहरूले पचास वटा बहुवैकल्पिक उत्तर भएका प्रश्नको सही उत्तर छनोट गर्नुपर्ने व्यवस्था गरिएको थियो । प्रश्नपत्रको पुस्तिका समेत संघले तयार गरेको छ । सोही पुस्तिका अध्ययन गर्न दिएर, त्यही पुस्तिकाबाट नै प्रश्न सोधिएको थियो । विद्यार्थीहरूले सहभागिताका लागि एक सय रुपैयाँमा आफ्नो नाम दर्ता गराएका थिए । पुस्तकमा भएको ५३६ प्रश्नमध्येबाट जम्मा ५० वटा प्रश्न सोधिएको थियो । प्रतियोगितात्मक परीक्षामा सहभागी मध्येबाट १३५ विद्यार्थीले ५० वटै प्रश्नको सही उत्तर दिएर शतप्रतिशत अङ्क ल्याएका थिए, भने तीमध्येबाट गोलाप्रथाद्वारा प्रथम, द्वितीय र तृतीय छनोट गरिएको थियो ।

मोक्षदा स्कुलका विपिन ढकाल प्रथम, गीता माता स्कुलका युगेश मगर द्वितीय र पाटन सेकेन्डरी स्कुलका विजय रावल तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । त्यस्तै शतप्रतिशत मिलाउन सफल ५० अन्य विद्यार्थीलाई प्रोत्साहन पुरस्कार उपलव्ध गराएका थिए । प्रथम हुनेले ५१ हजार, द्वितीयले २५ हजार, तृतीयले १५ हजार र पचास जनालाई प्रोत्साहन स्वरूप जनही एक–एक हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्