Logo

त्रासमा दिल्लीमा रहेका नेपाली



दिल्ली, फागुन १४ । दिल्लीमा भड्किएको हिंसाले त्यस क्षेत्रमा बस्ने नेपालीलाई क्षति नपुगे पनि उनीहरूमा त्रास बढेको छ । हिंसात्मक घटना भएका क्षेत्रमा नेपालीको बाक्लै उपस्थिति छ । दिल्लीको उत्तरपूर्वी क्षेत्रमा करिब पन्ध्र हजार प्रवासी नेपाली रहेको अनुमान छ ।

तीमध्ये अधिकांश आ–आफ्नै स–साना उद्योग व्यवसाय र कलकारखानामा काम गर्छन् । हालसम्म नेपालीलाई कुनै क्षति भने पुगेको छैन । उनीहरूमा दंगा थप भड्किने हो भन्ने त्रास भने छ । तनावपूर्ण माहोलका कारण उनीहरू व्यवसाय गर्न तथा अन्य अत्यावश्यक कामका लागि बाहिर निस्कन सकेका छैनन् ।

गोकुलपुरीमा बस्दै आएका जनक गिरीले सोमबार किनमेलका लागि बाहिर निस्के पनि मंगलबार बिहानदेखि भने बाहिर निस्कने वातावरण नरहेको बताए । ‘सोमबारसम्म त ठिकै थियो तर आजको स्थिति डरलाग्दो बन्यो । हामी बिहानैदेखि घरभित्रै छौं, हिंसा थप चर्किने हो भन्ने डर छ,’ गिरीले भने ।

दिल्लीस्थित नेपाली दूतावासले विकसित घटनाक्रम र नेपालीको सुरक्षा व्यवस्थालाई नजिकबाट हेरिरहेको जनाएको छ । ‘उत्तरपूर्वी दिल्लीमा रहेका नेपाली समुदायसँग सम्पर्कमा छौं । उनीहरू असुरक्षित छैनन्,’ दूतावासका प्रवक्ता हरि ओडारीले भने । उनका अनुसार दूतावासले त्यस क्षेत्रमा बस्ने नेपालीलाई भीडभाडमा नजान आग्रहसमेत गरेको छ ।

त्यहाँ रहेका नेपालीलाई हल्लाका पछाडि नलाग्न र स्थिति पूर्ण रूपमा शान्त नभएसम्म घरभित्रै बस्न भनेको पूर्वअखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बताएको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्