Logo

संविधान संशोधनको लागि गठित कार्यदलमा नयाँ सदस्य राख्ने, यस्तो छ प्रधानमन्त्रीको तयारी



काठमाडौं, १४ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले संविधान संशोधनको लागि कार्यदल बनाएको हो कि होईन ? भनेर अहिले राजनीति तरंगित बनेको छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्टियसभा सदस्यमा मनोनित गर्ने र उनले भनेबमोजिम राष्ट्रिय सभा सदस्यपनि प्रधानमन्त्री बन्नसक्नेगरि संविधान संशोधन गर्न लागिएको भनेर कार्यदलमा रहेका सदस्यहरुले नै विरोध जनाए ।

नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेता खिमलाल देवकोटाले माधव कुमार नेपाल संयोजक रहेको उक्त कार्यदलमा आफूहरु सो प्रयोजनको लागि हो भने नबस्ने स्पष्ट पारे । नेम्वाङ र देवकोटाले वामदेवलाई प्रधानमन्त्री बनाउनकै लागि मात्रै गरिने संविधान संशोधनको लागि कार्यदलमा नबस्ने घोषणा गरेपछि उक्त कार्यदल गर्भमै तुहिएको भनेर पनि सार्वजनिक रुपमै टिकाटिप्पणी भैरहेको छ ।

तर, नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार सचिवालयको गत शनिबारको बैठकले संविधान संशोधनको लागि कार्यदल गठन भएको र यसमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको पनि सहमति रहेको थियो भन्ने पुष्टि गरेको छ । वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनको लागि मात्रै नभएर अन्य धेरै विषयमा केन्द्रित रहेर कार्यदलले संविधान संशोधनसम्बन्धी सुझाव दिने तयारी गरिएको थियो ।

असन्तुष्ट पक्षका माग र मुद्दा सम्बोधन गर्नेदेखि लिएर राष्टपतिको अधिकार केही बढाउनेसम्मको तयारीका साथ कार्यदल गठन गरिएको थियो । खासमा राष्ट्रपतिलाई संकटकालिन अवस्थामा महत्वपूर्ण अधिकार प्रत्यायोजन गर्ने नेकपा नेतृत्वको तयारी छ । अहिलेपनि प्रधानमन्त्री स्वयमसमेत कार्यदल भंग गर्ने तयारीमा छैनन् । यदि असन्तुष्ट सदस्यहरुले कार्यदलमा बस्न नमान्ने हो भने अरु नेतालाई राखेर भएपनि अघि बढ्ने ओलीको चाहना छ । file photo/RSS



प्रतिक्रिया दिनुहोस्