Logo

माधव नेपालसँग प्रधानमन्त्री ओलीको मध्यरातसम्म भलाकुसारी, के कुरा भयो ?



काठमाडौं, १४ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता बाक्लिएको छ । पछिल्लो समय अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गठबन्धन बनाएर ओलीविरुद्ध मोर्चाबन्दी कसेको आरोप लागिरहेको बेला नेता नेपालको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आवातजावत बाक्लिएको छ । अध्यक्ष ओलीले नेता नेपालसँगमात्रै छुट्टै भेटवार्ता गर्नु भनेको दाहालको नेतृत्वमा रहेको शक्तिशाली गठबन्धन भत्काउनु हो ।

पार्टी एकतापछि अध्यक्ष ओली र नेता नेपालबीच उतारचढावपूर्ण सम्बन्ध रहँदै आएको छ । हुनपनि नेता नेपाल कहिले दाहालसँग त कहिले ओलीसँग मिलेर अघि बढेका थिए । तर, उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित् निवासमा भएको दाहाल, बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष गौतम, प्रवक्तासमेत सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य रामबहादुर थापाको गोप्य भेलाले ओलीविरुद्ध सशक्त मोर्चाबन्दी बनाउने निर्णय गरेको थियो । त्यहाँदेखि ओली पार्टीका सबै मोर्चामा अल्पमतमा पर्दै आएका थिए । पार्टीभित्र ओलीभन्दापनि दाहाल बढि हाबी हुँदै आएका छन् ।

आफूविरुद्ध एकपछि अर्को गरेर घेराबन्दी हाल्न थालेपछि प्रधानमन्त्री ओलीले पनि रणनीतिक चाल चाल्न थालेका छन् । केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकपछि ओलीले शीर्ष नेताहरुसँगको छुटछुट्टै भेटवार्तालाई पनि अघि बढाएका छन् । तर, खासै काम गरिरहेको छैन् । यो पटक भने उनले नेता नेपालसँग लगातार छलफल गरिरहेका छन् । हिजोमात्रै पनि नेता नेपाल मध्यरातसम्म प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा सरिक भएको बालुवाटार स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओली र नेता नेपालबीच पछिल्लो उत्पन्न राजनीतिक परिस्थिति, एमसीसी, संविधान संशोधनलगायतका विषयमा कुराकानी भएको छ । सरकार एकपछि अर्को गरेर विवादमा मुछिएको बारे बाहिर आलोचना भैरहेकोले यसले पार्टीकै बद्नाम भएको भनेर नेकपाका नेताहरुले टिप्पणी गरिरहेको अवस्थामा ओली र नेपालबीच भएको भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ । file photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्