Logo

गोकुल बाँस्कोटाको दाबी : त्यो मेरो अडियो नै होईन, क्यारिकेचर गरिएको हो



काठमाडौं, १४ फागुन । ७० करोडको कमिशन डिलको अडियो बाहिर आएपछि मन्त्रीबाट राजीनामा दिएका गोकुल प्रसाद बाँस्कोटाले भने उक्त अडियो आफ्नो नभएको दाबी गर्दै आएका छन् । उक्त अडियो बाहिरिएको दिन उनी सुदुरपश्चिममा थिए । त्यतिवेला पनि उनले उक्त अडियो आफ्नो नभएको र ७ वटा जोडेर बनाएको होला भनेर हतारिएको प्रतिक्रिया दिएका थिए । तर, तीन घण्टा नबित्दै उनले काठमाडौं आउनेबित्तिकै पदबाट राजीनामा दिएका थिए ।

उक्त प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको नाम भ्रष्टाचारमा मुछिएको छ । कतिसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त संसदमा प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने माग गरेको छ । प्रधानमन्त्रीको विश्वासपात्रले यस्तो कमिशनको डिल गर्दा प्रधानमन्त्रीलाई थाहा भएको कांग्रेसको दाबी छ । यदि थाहा नहुनु भनेको पनि पाप हो भन्दै उसले यो प्रकरणलाई लिएर प्रधानमन्त्रीले जतिसक्दो चाँडो जवाफको माग गरेको छ । आफ्नै पार्टीभित्रबाट पनि यो प्रकरणलाई लिएर प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी भएको छ ।

खासगमा उक्त अडियो विजयप्रकाश मिश्रले बाहिर ल्याएका हुन् । उनले आफूले उक्त अडियो प्रधानमन्त्रीलाई नदिएको बताएका छन् । पत्रकार ऋषि धमलासँगको टिभी अन्तर्वार्तामा उनले आफूले प्रधानमन्त्री ओलीलाई नभेटेको र अडियो पनि नदिएको दाबी गरेका छन् । तर, केही दिनअघिमात्रै उनले दुई महिना अघि नै प्रधानमन्त्रीकहाँ उक्त अडियो पुर्याएको समाचार जोडतोडले छापिएको थियो । यो सँगै प्रधानमन्त्री ओलीपनि यो प्रकरणमा मुछिन पुगेका हुन् ।

यता, मन्त्रीबाट हात धुनु परेका बाँस्कोटा भने त्यो अडियो आफ्नो नभएको दाबी गर्दैछन् । स्रोतकाअनुसार उनले आफूनिकट नेता तथा कार्यकर्ताहरुसँगको कुराकानीमा उक्त अडियो आफ्नो नभएको र क्यारिकेचेर गरेर बनाईयो दाबी गरेका छन् । नेकपाका कतिपय शीर्ष नेताहरुले पनि उनलाई फसाईएको चर्चा गर्न थालेका छन् । यो प्रकरण अख्तियारले छानबिन गर्ने भैसकेको छ । अडियो बाहिर ल्याउने मिश्रलाई पनि पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनलाई पत्राचार भैसकेको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटवार्तामापनि उनले उक्त अडियो आफ्नो नभएको दाबी गरेका थिए । तर, उनको विषयमा प्रश्न उठेपछि तत्काल राजीनामा दिनको लागि प्रधानमन्त्रीले निर्देशन दिएका थिए । बाँस्कोटा अहिलेपनि प्रधानमन्त्री ओलीको भक्तपुर बालकोटस्थित् निजी निवासमा बसिरहेका छन् । मन्त्री हुँदापनि उनी त्यही घरमा बस्दै आएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्