Logo

वामदेव गौतमले प्रधानमन्त्री बनाउन संविधान संशोधन गर भन्नुभएको विश्वासयोग्य छैन- डा. टीकाराम भट्टराई



काठमाडौं, १४ फागुन । डा. टिकाराम भट्टराई कानुनका जानकार हुन् । निडर ढंगले सटिक जवाफ दिन सक्ने भट्टराईले संविधान संशोधनको बहस भएपनि त्यो देश र जनताको हितका लागि हुनुपर्ने तर्क गरेका छन् । उनीसँग ऋषि धमलाले गरेको कुराकानीः
फेरि संविधान संसोधनको बहस शुरु भएको छ, तपाईं कता हुनुहुन्छ ?
म संविधान र कानुनको विद्यार्थी भएकाले संविधान बोकेर दिनैपिच्छे सर्वोच्च अदालतमा बहस गर्न जान्छु । त्यस्तै पक्ष छु ।
वामदेव गौतमलाई संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउन सकिन्छ कि सकिँदैन ?
यसको बारेमा सत्तापक्षले आधिकारित रुपमा वामदेव गौतम प्रधानमन्त्री बनाउने प्रयोजनका लागि संविधान संशोधन गर्नुपर्छ भनेर कहीं कतै निर्णय भएको छैन भनेर त्यसका महासचिवले पत्रकारहरुलाई भनेको तपाईंहरुबाटै सुनेको हो ।
विष्णु पौडेलले नै भन्नुभएको छ, त्यसपछि माधवकुमार नेपालले बैठक पनि राखिसक्नुभयो नि ?
माधवकुमार नेपालले त्यही विषयमा बैठक राख्नुभएको हो वा अरु विषयमा हो । कार्यदल गठन भएको हो वा त्यो विषयमा गर्न सकिन्छ सकिँदैन भनेर छलफल मात्रै भएको कुरा अहिले नै स्पष्ट भइसकेका छैनन् । हामीलाई थाहा भएसम्म सत्तारुढ दलले त्यो विषयमा कुनै पनि कार्यदल बनाएको छैन भन्ने कुरा बाहिर आएको छ । यदि कार्यदल बनेको र माधवकुमार नेपालको निवासमा त्यसबारे छलफल भएको हो भने निर्णय नभएसम्म त्यसका बारेमा निप्पणी गर्नुउपयुक्त हुँदैन । कसैको मनमा लाग्न सक्छ ।
राजनीति गर्ने मान्छेलाई म यो देशको कार्यकारी राष्ट्रपति हुन पाए हुन्थ्यो भन्ने पनि लाग्न सक्छ । संविधान संशोधन गरेर कार्यकारी प्रमुख बनु, मधेसवादी दललाई मधेस प्रदेश छुट्टै बनाउनु भन्ने लाग्न सक्छ । कसैलाई इच्छा लाग्न सक्छ, त्यसले मूर्त रुप लिनु अर्को कुरा हो । यसले मूर्त रुप प्राप्त गरिसकेको छैन । त्यसैले यसमा टिकाटिप्पणी गर्नु उपयुक्त हुँदैन ।
कार्यदल बनाएर त्यसको जिम्मा सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटालाई त्यसको जिम्मा दिइयो उहाँहरुले असम्भव भन्नुभयो भन्ने बाहिर आएको छ नि ?
यसलाई त्यो विषयमा छलफल भए छ । तर, अहिलेसम्म कुनै निर्णय भएको रहेन भन्ने अर्थमा बुझौ । छलफल भएको विषयमा जसरी टिकाटिप्पणी भएको छ । म जहिले पनि भन्ने गर्छु, नेपाली डेमोक्रेसी एकदमै फङ्सनल र क्रियात्मक छ । अनि नेपालको मिडिया यति शक्तिशाली छ कि कसैको मनमा उब्जिएको कुरालाई तुरुन्त बाहिर ल्याइदिन्छ । जसले समाजमा नकारात्मक प्रभाव बढी भयो भने त्यसमा निर्णय गर्न दलहरु पछि हट्न वाध्य हुन्छन् । हाम्रो डेमोक्रेसी र लोकतन्त्रको सबैभन्दा बलियो र सुन्दर पक्ष यो हो । एउटा व्यक्तिलाई केन्द्रित गरेर संविधान संशोधन गर्नुहुँदैन भनेर हिजोदेखि जसरी बहस सुरु भएको छ । त्यसमा नेकपाले निर्णय गरेको होस् वा नहोस् । यो बहसले हाम्रो लोकतन्त्रलाई बँचाउँछ ।
नेताहरुको महत्वकांक्षालाई यसले नियन्त्रण गर्ने काम गर्छ । त्यसकारण मैले यो बहसलाई अत्यन्तै सकारात्मक रुपमा लिएको छु । चाहे त्यो भ्रष्टाचारको रुपमा आएको होस्, चाहे संविधान संशोधनको विषयमा आएको बहस होस् । जनतामा बहस र प्रश्न गर्ने क्षमता बढेको छ । जनतामा बढेको त्यो बहस गर्ने र प्रश्न गर्ने क्षमताले नै लोकतन्त्रलाई बलियो बनाउँछ ऋषिजी ।
वामदेव गौतमले सचिवालय बैठकमा मेरो योगदानके मूल्यांकन गर्ने कुरा कहाँ पुग्यो भन्दा प्रधानमन्त्री मौन भएर कार्यदल बनाउन वाध्य हुनुभयो नि ?
अब वामदेव गौतमले त्यो भन्नुभयो कि भएन मलाई थाहा छैन । बाहिर आएको कति कुरा कत्तिको आधिकारिक हो । कहिलेकाहीं प्रधानमन्त्री पनि भन्नुहुन्छ, ‘चर्चामा पनि नआएको र चिताउँदा पनि नचिताएको कुरा पनि मिडियामा आउँछ’ भनेर । जेहोस् त्यो कुरा सुवास नेम्वाङलाई उद्रित गर्दै आज मिडियामा जे आएको छ । छलफलमा आएको कुरालाई सुवास नेम्वाङ र खिमलाल देवकोटाले पुष्टि गर्नुभएको छ । यो विषयमा छलफलसम्म भएछ भन्ने कुरा त्यसबाट थाहा हुन्छ ।
उहाँहरुलाई प्रचण्डले वामदेवजीलाई प्रधानमन्त्री बनाउनुपर्छ त्यसको लागि संविधान संशोधन गर्नुपर्छ भनेर भन्नुभयो नि ?
त्यो त मलाई थाहा छैन ऋषिजी तपाईं धन्यवाद सूचनाको लागि । तर, सुवास नेम्वाङ र खिमलाल टेवकोटालाई भनाई समाचारमा आएकाले त्यो विषय छलफल भएको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । तर, संविधान भनेको त्यति खेलाँची गर्ने विषय होइन । जसरी संघीय लोकतान्त्रात्मक संविधान गर्नको लागि तपाईंले नाम लिनुभएको वामदेव गौतमको जस्तै हजारौं सरोकारवाला र लाखौं कार्यकर्ताको त्याग, तपस्या र बलिदानबाट यो गणतन्त्रात्मक संविधान प्राप्त भएको हो । त्यसैले अहिले म वामदेव गौतमको मात्रै कुरा गर्दिन । वामदेव गौतमदेखि लिएर सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, केपी ओली, माधव नेपाल, झलनाथ र विष्णु पौडेलसम्मलाई त्यो स्थान दिने नेपाली जनता हुन् । कसैले खल्तिबाट झिकेर दिएको होइन । उहाँहरु जनमत प्राप्त गरेर त्यहाँबाट आउनुभएको हो । यही संविधानले उहाँहरुलाई त्यो ठाउँमा पु¥याएको छ । यो गणतन्त्र ल्याउन हिजो गाउँ–गाउँदेखि काठमाडौंका गल्लीगल्ली खाली खुट्टा हिंडेका मान्छेहरुले के पाएका छन् ? जनताहरुले त त्यो तहबाट सोच्ने हो नि ।
जनताले त त्यो सोच्लान् तर अहिले संविधान संशोधनको चर्चा आउनु बेमौसको बाजा होइन ?
वामदेव गौतमले ‘मलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्नुपर्छ’ भनेर त्यो स्तरको नेताले भन्नुभयो भन्नेमा म विश्वासै गर्दिन । यो त सरासर वामदेव गौतमको त्याग, तपस्यालाई अवमूल्यन गर्ने कुरा हो । वामदेव गौतम जत्तिको नेताले ‘मेरा लागि संविधान संशोधन गर’ भन्नुभयो र सचिवालय कार्यदल बनायो भन्ने कुरा विश्वास गर्न योग्य कुरै होइन ।
तपाईंले विश्वास नगरेर के गर्ने कार्यदल बनिसकेको छ, माधव नेपालले नेतृत्व लिइसक्नुभएको छ नि ?
माधव नेपालले ‘मैले नेतृत्व लिएँ, कार्यदल बन्यो’ भनेर तपाईंलाई भन्नुभएको छ ?
उहाँले मसँग भन्नुभएको छ, कार्यदल बनेको छ भनेर ?
अब तपाईंहरु बीचमा भएको कुराको कि रेकर्ड सुनाइदिनुस् । हामी पनि नेताहरुसँग कुरा गर्छौ ।
विजय मिश्रको त मैले सुनाइदिएको थिएँ नि ?
विजय मिश्रको सुनाउनुभयो, यस्ता–यस्ता कुरा खोजेर ल्याउनुभएकोमा धन्यवाद । अब माधव नेपालले ‘कार्यदल बन्यो, त्यसको म संयोजक भएँ’ भनेको अहिलेसम्म नेपाली जनतालाई थाहा छैन । कुनै व्यक्तिविशेषको लागि संविधान संशोधन गर्नुपर्छ भन्ने आवाज यदि नेकपामा उठेको हो भने त्यो दूर्भाग्यपूर्ण कुरा हो । यो संविधान, नेपाली जनता, संविधान प्राप्तिका लागि लागेका घाइते, बेपत्ता र अभियान्ताप्रतिको घोर अपमान हो । त्यस्तो प्रकारको कुरा नेकपा जस्तो जिम्मेवार र परिपक्व नेताहरु भएको बैठकमा त्यसरी उठेन होला । समग्र संविधानको पुनरावालोकन गर्नुपर्छ भन्ने कुरा त उठिरहेको छ । दुईपटक त हामीले संशोधन नै गरिसकेका छौं । नेपाली कांग्रेसको नेतृत्वमा सरकार भएको बेलामा । अहिले पनि संविधान संशोधनका विषयमा संसद्मा वा राजनीतिक दलबीच चर्चा भइरहेका छन् । त्यसैले समग्र संविधान संसोधनको कुरा उठेको होला तर अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि यो कुरा उठेको होला भन्ने म विश्वासै गर्दिन ।



प्रतिक्रिया दिनुहोस्