Logo

मोदीले ‘धार्मिक हिंसा’ लाई नियन्त्रणमा लेलान् ?



समाचार विश्लेषण, १४ फागुन । दिल्लीमा ठिक त्यतिबेला दंगा भयो जतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ३६ घन्टा लामो भारत यात्रामा थिए । दिल्लीमा भएको दंगाले ट्रम्पको भ्रमणलाई समेत ओझेलमा पारिदियो । त्यसैले दंगा नियोजित षड्यन्त्रका रुपमा भएको भन्न सकिने आधारहरु छन् ।

भारतमा मोदी सरकारले संसदबाट पारित गरेको नागरिकतासम्बन्धी विधयेकको विरुद्ध प्रदर्शनहरु भइरहेका थिए । तर यसले दंगाकै स्वरुप लियो । आइतबार साँझबाट चलेको दंगा मंगलबार पनि चल्यो । मुसलमानहरुको घर र पसलमा आगो लगाउने गतिविधि भयो । २० जना मारिए र साँढे दुई सय गम्भीर घाइते भए । दंगा नियन्त्रण गर्न भारतको केन्द्र सरकारलाई हम्मे परिरहेको छ । सँसारभर यो घटना चासोमा परेको छ ।

हिन्दुवादी परिचय बनाएको भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि पहिलोपटक यति ठूलो धार्मिक दंगा भड्किएको हो । सन् २००२ मा उनी मुख्यमन्त्री हुँदा गुजरातमा यस्तै दंगा भड्किएको थियो । जसमा दुई हजार मानिस मारिएको अनुमान छ । घटनामा हराएका मानिस अझै भेटिएका छैनन् । मोदी गुजरातको मुख्यमन्त्री र अमित शाह गृहमन्त्री थिए । हिन्दु तीर्थयात्री अयोध्याको तीर्थयात्राबाट फर्किइरहेको गोदरा रेल २७ फेब्रुअरी २००२ मा आगो लगाइदिंदा ५८ जनाको मृत्यु भएपछि हिंसा भड्किएको थियो । परिणाम अल्पसंख्यक मुसलमानहरुमाथि आक्रमण भयो । रातारात एक हजारभन्दा बढी मानिस मारिए । उक्त घटनामा गुजरात सरकार हिन्दुको पक्षमा लागेको आरोप लाग्यो ।

संयोग नै भन्नुपर्छ १८ वर्षपछि दिल्लीमा भएको धार्मिक हिंसा फेब्रुअरी महिनामै भएको छ । मोदी भारतका प्रधानमन्त्री छन् भने अमित शाह केन्द्रीय गृहमन्त्री । यही बेलामा भएको हिंसालाई निकै चासोका साथ हेरिएको छ ।

मोदीमाथि मुसलमानप्रति पूर्वाग्रही भएको आरोप लागिहरेको छ । नागरिकतासम्बन्धी कानुन मुलसमान लक्षित रहको तर्क भइरहेको छ । राम मन्दिर निर्माणको अदालती फैसलालगायतका विकसित घटनाक्रमपछि मुसलमान देशहरुले मोदी सरकारको आलोचना गरिरहेका छन् । यस्तो अवस्थामा मोदीका सामु निकै चुनौती देखिएको छ ।

दिल्लीको धार्मिक दंगा नियन्त्रण गर्न निकै कठिन भइरहेको छ । लगातार तीन रात हिंसा भड्किएको छ । घरेलु हतियारका अलावा पेस्तोलको समेत प्रयोग भएको छ । प्रहरी गोली लागेर मारिएका छन् । यसकारण मोदी सरकारलाई धार्मिक हिंसा नियन्त्रण गर्न चुनौती बढेको देखिन्छ । गुजरातका मुख्यमन्त्री हुँदा मोदी सरकारले बल प्रयोग गरी दंगा नियन्त्रणमा ल्याएको थियो । यसपटक दिल्लीमा मोदी सरकारले कस्तो कदम चाल्ला हेर्न बाँकी नै छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्