Logo

बामदेवले मारे एकपछि अर्को बाजी, प्रधानमन्त्रीको ढोका खोल्दै



रिपोर्टर्स नेपाल, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले पछिल्लो समय एकपछि अर्को बाजी मारेका छन् । हक्की स्वभावका उनले पार्टीका नेताहरुलाई दबाबमा पारेर उपाध्यक्ष हात पारे । उनलाई उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन नै गर्नुपर्यो ।

नेकपाको सचिवालयले स्थायी कमिटि हुँदै केन्द्रीय कमिटिमा लगी विधान संशोधन पारित गरेको थियो । लामो गृहकार्यपछि गौतम उपाध्यक्ष बने । यसमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समेत वाध्य भए । वामदेवले यी दुवैलाई वाध्य बनाउनुमा उनको पार्टीभित्र र बाहिर समेत रहेको पकड मुख्य कारण थियो । गौतमलाई आफ्नो पक्षमा ल्याउन ओली र प्रचण्ड दुवैले जोडबल गरे । नेकपाभित्रको हुकुमको एक्का बनेका उनले गतिलो रणनीति बनाएर उपाध्यक्ष पद प्राप्त गर्ने सफलता हासिल गरे ।

गौतम उपाध्यक्ष पदबाट मात्र चुप लागेनन् । उनले राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने गरी संविधान संशोधनको प्रस्ताव बारम्बार राखे । भारत र अन्य लोकतान्त्रिक देशको संविधानमा विद्यमान विषय उठाउँदै दबाब दिए । उनलाई राष्ट्रियसभा सदस्य बनेर उपप्रधानमन्त्रीसहितको शक्तिशाली मन्त्रालयको प्रस्ताव गरियो । तर, आफू पटक पटक मन्त्री भइसकेकाले अब प्रधानमन्त्री मात्र बन्ने बताए । बरु संविधान संशोधन गर्न भने ।

गौतमले संविधान संशोधनको प्रक्रिया बढाउन जुन दबाब दिए त्यसमा जान नेकपाका दुवै अध्यक्ष वाध्य भए । उनीहरुले कार्यदल बनाउनेबारे मौखिक सहमति समेत गरे । यसले नेकपाभित्र तरंग आयो । वामदेव प्रधानमन्त्री बन्ने ढोका उघार्दैछन् भन्ने तर्क भयो ।

बुधबार मात्र वामदेवको पक्षमा नयाँ निर्णय भयो । उनलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सरकारले प्रस्ताव लानेगरी नेकपा सचिवालयले निर्णय गर्यो । अब उनी राष्ट्रियसभा सदस्य बन्दैछन् । गौतम सांसद बन्नका लागि मात्र राष्ट्रियसभामा जाँदै छैनन् । अब उनी उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने सम्भावना रहेको छ । योसँगै उनले प्रधानमन्त्री बन्ने ढोका उघार्न दबाब बढाउन सक्छन् । संविधान संशोधनमा सफलता हासिल गर्न भयसक्दो बल लगाउन थालिरहेका छन् । यो तहसम्म सफलता हासिल गर्न ओलीलाई फलामको च्युरा चपाउनु सरह हुनेछ । तर, असम्भव भने छैन ।

राजनीतिक घटनाक्रम यसरी विकास हुँदैछ कि गौतम एकपछि अर्को बाजी मार्दै गइरहेका छन् । उनको महत्वाकांक्षा र माहोल मिल्दोजुल्दो छ । पार्टीभित्र उनको महत्व र प्रभाव बढ्दै गएको छ । यसैलाई प्रयोग गरेर उनी प्रधानमन्त्रीको कुर्सीसम्म पुग्न खोज्दैछन् । यसमा ब्रेक लगाउन नेकपाभित्रकै आन्तरिक प्रतिष्पर्धीले भूमिका खेल्छन् तर वजनदार वामदेवले धक्का दिएर बढ्ने सम्भावना उत्तिकै छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्