Logo

बामदेवको बबण्डरले नेकपामा भूकम्प (भिडियोसहित)



फागुन १४, काठमाण्डौ । एकपछि अर्को विवादमा परेको सत्तारुढ दल नेकपा अहिले बामदेव गौतम प्रकरणमा फसेको छ । जसरी भए पनि प्रधानमन्त्री बन्ने बामदेगको जिद्धीपनलाई नेकपा सचिवालयले साथ दिने प्रयास गर्दा विवाद बढेको हो । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने बामदेवको मागको पछि लाग्दा सचिवालय खाडलमा पर्यो भन्दा फरक नपर्ला ।

गौतमले नेपाली राजनीतिक आन्दोलनमा जति योगदान दिए त्यसलाई बिर्साउने गरी अहिले गलत कदम चालिहरका छन् । आफू जसरी पनि प्रधानमन्त्री बन्ने पर्ने गौतमको बालहठले उनी आलोचित हुँदै गएका छन् । गुटगत राजनीतिको सिकार भएको नेकपाले गौतमको बालहठलाई थामथुम पार्न संविधान संशोधन अध्ययनका लागि भन्दै कार्यदल नै बनाएपछि विवाद चुलियो ।

अन्ततः उक्त कार्यदलले काम नै सुरु नगरी भंग हुन पुग्यो । बुधबारको सचिवालय बैठकले कार्यदललाई निस्क्रिय बनाउने निर्णय गरेको हो । बामदेवका लागि संविधान संशोधन गर्न खोजिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न बामदेवले पार्टीभित्र दबाब दिएका थिए । बामदेवले विगतदेखि नै नचाहिने कुराको पछि लाग्दा असफल हुने गरेको राजनीतिक विश्लेषक सुरेन्द्र केसीको भनाई छ ।

तर बामदेवको दबाबलाई अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी ओलीले थेग्न सकेनन् । किनकी दाहाल र ओलीलाई बामदेव आफ्नो गुटबाट भाग्छन् कि भन्ने चिन्ता थियो । जसले गर्दा विवाद हुन्छ भन्ने जान्दा जान्दै पनि कार्यदल बनाइयो । तर कार्यदलबारे नेकपाले औपचारिक रुपमा जानकारी दिने हैसियतसम्म राखेन । कार्यदलको सदस्यमा प्रस्ताव गरिएका नेकपा संसदीय दलका उपनेतासुवास नेम्वाङ र खिमलाल देवकोटाले अस्वीकार गरेपछि कार्यदल गभैमै तुहिएको हो ।

बामदेवले अपरिपक्वता देखाएको भन्दै नेम्बाङले एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउनका लागि संविधान संशोधनको प्रयास गर्नु गलत हुने बताए । स्वयम बामदेवलाई पनि घातक हुने नेम्वाङको तर्क छ ।

तर उनै गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय भने गरियो । तर यसले झन नेकपामा भूकम्प नै ल्याइदिएको छ भन्दा फरक नपर्ला । किनकी प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपीशर्मा ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णयप्रति आपत्ति जनाएका छन् ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ बाट निर्वाचन हारेपछि बामदेवको संसद प्रवेशको यात्रामा ठेस लागेको थियो ।

प्रतिनिधिसभा सदस्य भएपछि प्रधानमन्त्रीको दावी गर्ने योजना बनाएका बामदेवलाई पार्टी नेतृत्वले नै घात गरेर चुनाव हराएको चर्चा पनि भयो । पछि गौतमले काठमाण्डौ क्षेत्रनम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर उक्त क्षेत्रबाट चुनाव जितेर संसद प्रवेश गर्ने जुक्ति निकाले ।

यो जुक्ति पनि असफल भयो । अहिले उनको एउटै विकल्प भनेको राष्ट्रपतिाबट मनोनित भएर राष्ट्रियसभामा प्रवेश गर्ने हो । तर राष्ट्रिसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था छैन । संविधान संशोधन गरेर भए पनि प्रधानमन्त्री बन्ने बामदेवको चाहना र नेकपा सचिवालयको प्रयास एउटा गतिलो नाटक मंचन बनेको छ ।



प्रतिक्रिया दिनुहोस्