Logo

शेयर बजारमा चमत्कार, एकैदिन ४ अर्बको कारोबार, ५० अंकले वृद्धि



फागुन १४, काठमाण्डौ । पछिल्ला दिनमा नेपाली शेयरबजारमा उथलपुथल जस्तै भइरहेको छ । एकै दिनमा नेप्से परिसुचक उच्च अंकले वृद्धि भइहरको छ । कारोबार रकमले पनि इतिहास कायम गरेको छ । बुधबार एकैदिन ४ अर्बभन्दा बढिको शेयर कारोबार भयो । परिसुचक पनि ५० अंकभन्दा बढिले बढेको छ ।

बुधबार नेपाली धितोपत्र बजारमा पहिलो पटक एकै दिनमा ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन १८० कम्पनीको ३२ हजार १५४ पटकको कारोबारमा ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । यो एक दिनमा भएको हालसम्मकै उच्च कारोबार रकम हो । यस अघि गत यसै साताको पहिलो कारोबार दिन अर्थात फागुन ११ गते नेप्सेले सर्वा्धिक कारोबार रकमको रेकर्ड कायम गरेको थियो ।

नेप्सेमा ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । पछिल्लो समय नेप्से बढेसँगै दैनिक कारोबार रकममा पनि उल्लेख्य सुधार भइरहेको छ । नेप्सेको यस वृद्धिलाई अहिले बजारमा केही व्यक्तिहरुको चलखेल हो कि भन्ने आशंका गर्न थालिएको छ । नेप्सेमा कारोबार र परिसुचक बढेकै भरमा बजारमा लगानी गर्नुअघि सचेत हुनुपर्ने जानकारहरु बताउँछन् । यस्ता घटनामा विशेष गरी नयाँ तथा साना लगानीकर्ताहरु फस्ने गरेका छन् ।

बुधबार कारोबार रकमले नयाँ इतिहास कायम गर्दा नेप्से परिसूचक ५०.९३ अंक बढेर एक हजार ५९६.१३ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ९.४९ अंक बढेर ३३६.०५ विन्दुमा पुगेको छ । कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेको छ । यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६.१२ प्रतिशत बढेको छ। त्यसैगरी, उत्पादन उपसमूहको परिसूचक ४.६३ प्रतिशत बढेको छ भने बैंकिङ्ग, होटल, निर्जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । नेप्से परिसूचक बढेसँगै यस दिन ४ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन एभरेष्ट बैंकको परिवर्तिय अग्राधिकार शेयर, राष्ट्रिय बीमा कम्पनी कम्पनी, युनिलिभर नेपाल र कालिका पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन गुराँस लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, सिभिल लघुवित्त र जोशी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । राधी विद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ८.२९ प्रतिशत घटेको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ७.९६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ । सो इन्स्योरेन्सको यस दिन २१ करोड ९९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्स, नेपाल बैंक, हिमालयन डिष्टिलरी, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र एनआईसी एशियाको कारोबार रकम १० करोड नाघेको छ ।



प्रतिक्रिया दिनुहोस्