Logo

के एक्लिएकै हुन ओली ? सान्त्वना दिदै प्रचण्ड, खनालको चेतावनी



फागुन १५, काठमाण्डौ । सत्तारुढ दल यतिबेला चरम संकटमा परेको छ । यो संकटबाट उत्रिन नेकपालाई त्यति सहज देखिएको छै्रन । यद्यपी जुनसुकै बेला जस्तो सुकै विवाद पनि निम्तिने र त्यसै गरी सहज अवतरण हुने नेपाली राजनीतिको विशेषता नै हो ।

सत्तारूढ दल नेकपाको बुधबारको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न सिफारिस गर्ने निर्णय गर्यो । निर्णय भएको १ घण्टा बित्न नपाउँदै प्रधानमन्त्रीले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न नचाहेको विषयले एकाएक चर्चा पायो ।

सचिवालय बैठकको निर्णय मान्दिन भन्ने ओलीलाई वरिष्ठ नेता झलनाथ खनालले भने पार्टीको निर्णय नमान्ने भए पार्टी नै छाड्न चेतावनी दिएका छन् । उन प्राइम टाइम्स टेलिभिजनसँग टेलिफोनमा कुरा गर्दै पार्टीको निर्णय मान्दिन भन्ने छुट प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाईसमेत नभएको स्पष्ट पारे ।

बरिष्ठ नेता खनालले पार्टीको निर्णय नमाने पार्टी त्यहि रुपमा प्रस्तुत हुन्छ भन्नुको सिधा अर्थ हो सचिवालयले गरेको निर्णय नमाने ओली थप समस्यामा पर्नेछन् । अर्थात उनीविरुद्ध सचिवालयका दुई तिहाइ सदस्य एकै ठाउँमा उभिएका छन् । यसले प्रष्ट रुपमा के देखाउँछ भने ओली पार्टीमा झन झन कमाजोर बन्दै गएका छन् ।

पार्टीमा आफू अनुकुल निर्णय गराउने त परको कुरा निर्णय मान्नै पर्ने बाध्यात्मक परिस्थितिमा उनी पुगेको वाम विश्लेषक श्याम श्रेष्ठको तर्क छ । पार्टीमा अंकगणितका हिसाबले कमजोर देखिएका ओलीको छटपटी वामदेवको मुद्दामा आएर छताछूल्ल भएको उनको भनाइ छ ।

ओली केन्द्रिय कमिटी र स्थायी समितिमा त अल्पमतमा थिए नै पार्टीको उच्च निकाय सचिवालयमा पनि अल्पमतमा परेका छन् । नौ सदस्यीय सचिवालयमा दुई तिहाइ सदस्य प्रधानमन्त्री ओलीका विपक्षमा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा एकातिर छन् भने ओलीलाई ईश्वर पोखरेल र विष्णु पौडेलको मात्र साथ देखिन्छ ।

अहिले कार्यकारी जस्तै भएको सचिवालयमा नै अल्पमतमा परेपछि ओलीको मनोबल पनि गिरेको जस्तो देखिन्छ । यो अवस्थामा ओली सामु दुई वटा विकल्प छन् । की सचिवालय बैठकले गरेको निर्णय चुपचाप मान्ने । कि त सबैलाई पेलेर अघि बढ्ने । दोस्रो विकल्पले नेकपालाई नै संकट निम्त्याउन सक्छ ।

यसबीचमा ओलीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरारालाई भेटेपपछि थप तरङ्ग सृजना भएको छ । भेटमा कोइरालाले ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाब दिएको बताइएको छ । विहिबार विहान बालुवाटारमा बोलाएर कोइरालालाई भेट्नुको अर्थ विस्तारै खुल्दै जाला ।

यसैबीच अर्का अध्यक्ष दाहालले पार्टीभित्रको विवाद समान्य भएको भन्दै सान्त्वना दिने प्रयास गरेका छन् । बिहीबार काठमाडौंमा नेकपा बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै दाहालले पार्टीलाई कुनैपनि हालतमा फुट्न नदिने विश्वास दिलाएका हुन् ।

दाहालले धेरै ठूलो दुख र मुल्य चुकाएर कम्युनिस्ट पार्टीलाई देशमा अहिले यो अवस्थामा ल्याएको स्मरण गरे । दाहालले पार्टी कमजोर हुने, विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्ने एक ढिक्का भएर अगाडि बढ्ने आग्रह पनि गरे ।



प्रतिक्रिया दिनुहोस्