Logo

डिआईजीका २२ पदमा ३४ एसएसपीको दौडधुप



काठमाडौं, १६ फागुन । नेपाल प्रहरीमा एआईजी बढुवासँगै डिआईजी बढुवाको दौडधुप सुरु भएको छ । आगामी साता नै सरकारले डिआईजी बढुवाको तयारी गरेको छ।

२२ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको लागि ३४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बीच प्रतिस्पर्धा हुँदैछ । एसएसपी धनश्याम अर्याल, पुरुषोत्तम कणेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी, देवबहादुर बोहोरा र रामकृपाल शाह सिनियर हुन् । त्यस्तै उत्तमराज सुवेदी, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, दिवेश लोहनी, रविन्द्र धानुक बढुवाका प्रमुख दाबेदार छन् ।

२०७५ वैशाखमा एसएसपीमा बढुवा भएका सहकुल थापा, प्रदिपकुमार श्रेष्ठ, अरुणकुमार विसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । पहिलो सिनियर ब्याचका १६ जना तथा जुनियर ब्याचका १९ जना प्रतिस्पर्धामा छन् । सिनियर ब्याचका केही एसएसपीहरु पटक पटक कारबाहीमा परेको र कार्यक्षमतामा कमजोर भएकाले छुट्ने सम्भावना छ ।

प्रहरी नियमावली २०७१ को नियम २७ (१)(ख) अनुसार डीआईजीको बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, आईजीपी सदस्य र आईजीपीले तोकेको एआईजी सदस्य सचिव रहन्छन् । नियम ३० उपनियम (२)(१) अनुसार बढुवाका लागि बस्ने समितिले ज्येष्ठता, कार्यदक्षता, कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर बढुवा गर्नुपर्छ ।

कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठताबापत २०, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवबापत ८, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७.५, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५, विभूषण (मानपदवी, अलंकार तथा पदक) बापत २, बढुवा समितिले दिने ७.५ अंक गरी सबैभन्दा बढी अंक प्राप्त गर्ने व्यक्तिलाई सिफारिस गर्नुपर्ने प्रावधान छ । बढुवा समितिले दिने नम्बरमै चलखेल हुने भएकाले बढुवामा सधैं सोसफोर्स चल्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्