Logo

प्रचण्डले यसरी सम्झिए भरतमोहन अधिकारीलाई



काठमाडौं, १८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिस्ट आन्दोलनमा भरतमोहन अधिकारीले दिएको योगदानबाट सबैले प्रेरणा लिएर अगाडि बढ्नुपर्ने बताएका छन् । अधिकारीका स्मृतिमा भरतमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले सादगी व्यक्तित्व अधिकारीले कम्युनिस्ट आन्दोलनलाई माथि उठाउन गरेको योगदान तथा अर्थमन्त्रीका रूपमा उनले प्रस्तुत गर्नुभएको बजेट तथा ‘आफ्नो गाउँ आफैँ बनाउँ’ जस्ता लोकप्रिय कार्यक्रमकोे समेत स्मरण गरे ।

कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाई जनताको मन जित्ने र अर्थशास्त्रको गतिलो ज्ञान भएको नेताका रूपमा आफूले अधिकारीलाई पाएको उल्लेख गर्दै अध्यक्ष दाहालले राजनीतिक रूपमा समेत लामो समयदेखि सहकार्य गरेको स्मरण गरेका थिए । अधिकारीलाई असल अभिभावकका रूपमा पाएको स्मरण गर्दै अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन ठूलो योगदान गर्नुभएको बताए। वृद्धवृद्धालाई सम्मान दिने लक्ष्यका साथ अधिकारी नै अर्थमन्त्री हुँदा वृद्ध भत्ताको शुरुआत गरेर कम्युनिस्टहरुले वृद्धवृद्धालाई सम्मान गर्छन् भन्ने कुरा एउटै व्यवहारले स्पष्ट पारेको बताए।

प्रतिक्रियावादीले कम्युनिस्टहरु सत्तामा आए भने वृद्धवृद्धालाई मार्छन् भनेर गरेको गलत प्रचारसमेत अधिकारीको बजेटले खण्डन गरिदिएको र वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरेर सम्मान गर्छन् भन्ने स्पष्ट पारेको अध्यक्ष दाहालको भनाइ थियो । अर्थमन्त्रीका रूपमा अधिकारीले गाँउलाई दिएको माया, वृद्धवृद्धालाई दिएको सम्मानले पनि लामो समयसम्म नेपाली जनताले स्मरण गरिरहने अध्यक्ष दाहालले उल्लेख गरे । सामाजिक न्यायका लागि अधिकारीले दिनुभएको योगदानको स्मरण औपचारिकतामा सीमित नगरी उनले अगाडि सार्नुभएको जनता केन्द्रित व्यवहारलाई अनुशरण गर्नुपर्ने बताए ।

हाम्रा नारा, व्यवहार र संस्कारलाई जनतासँग जोडेर जानुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले अधिकारीलाई सम्मान गर्नु भनेको उनको सकारात्मक गुणलाई अनुसरण गरेर अगाडि बढ्नुपर्ने बताए । अरूको कुरा सुन्न सक्ने र फरक विचारलाई पनि सम्मान गर्ने गुण अधिकारीमा रहेको अध्यक्ष दाहालको भनाइ थियो । पार्टीलाई एकताबद्ध गर्न अधिकारीले तेस्रो महाधिवेशनबाटै प्रयास गरेको तथ्य पेश गर्दै अध्यक्ष दाहालले पछिल्लो पटक तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएर नेकपा बनेपछि सबैभन्दा खुशी भएको समेत उल्लेख गरे । कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउने र जनताको मन जित्न गरेका प्रयास सबैका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष दाहालको भनाइ थियो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्