Logo

डा. अर्यालको ‘अविश्रान्त’ उपन्यास उत्कृष्ठ, साहित्य पुरस्कारबाट पुरस्कृत



फागुन २०, काठमाण्डौ । डा. अम्बिका अर्यालको ‘अविश्रान्त’ उपन्यास शमी साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने ‘बादलभित्रको घाम साहित्य पुरस्कारबाट पुरस्कृत र सम्मानित भएको छ । वि. सं. २०७५ सालमा प्रकाशित कृतिहरुमध्येबाट उत्कृष्ट पाँच कृतिहरुको छनौट गरी प्राप्त मूल्याङ्कनका आधारमा उक्त पुरस्कार प्रदान गरिएको थियो ।

यस क्रममा उपन्यासकार अर्यालको ‘अविश्रान्त’ उपन्यास र दामोदर पुडासैनी किशोरको ‘सहरबिनाको सहर’ कविता कृतिलाई उत्कृष्ट कृतिका रुपमा एक लाख एघार हजार एक सय एघार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला ओडाई सम्मान गरिएको हो । संघीय मामिला मन्त्री माननीय हृदयेश त्रिपाठी र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो ।

शमी साहित्य प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माको ‘बादलभित्रको घाम’ निबन्धसङ्ग्रह कृतिको नाममा स्थापित उक्त पुरस्कारका लागि प्रा. डा. वासुदेव त्रिपाठी, प्रा. डा. देवीप्रसाद गौतम र प्रा. डा. महादेव अवस्थी रहेको एक मूल्याङ्कन समिति गठन गरी उनीहरुको मूल्याङ्कन आधारमा उत्कृष्ट कृति घोषणा गरिएको थियो । उक्त कार्यक्रममा मूल्याङ्कन समितिका तर्फबाट प्रा. डा. वासुदेव त्रिपाठीले ‘अविश्रान्त’ उपन्यासले प्रेम र मनोविज्ञानलाई उत्तरआधुनिक नवीन शैलीमा आकर्षक ढङ्गले प्रस्तुत गरेको विचार व्यक्त गरेका थिए ।

उपन्यासमा प्रयुक्त प्रेम र मनोविज्ञानमा फ्रायडीयभन्दा उत्तरफ्रायडीय दृष्टि रहेको र आत्मिक प्रेमको सर्वोच्चतालाई स्थापित गरिएको विचार पनि व्यक्त गरे । नेपाली उपन्यासमा नवप्रवेशी उपन्यासकार भए पनि अर्यालको प्रस्तुत उपन्यासमा गरिएको विषय र शिल्पको सन्तुलित प्रयोगले उनी समकालीन उपन्यासका सम्भावनायुक्त उपन्यासकार देखिएकाले यो पुरस्कार प्रदान गरिएको विचार व्यक्त गरे ।

त्यस्तै कवि पुडासैेनीको उपर्युक्त कविताकृतिमा समकालीन चेतलाई प्रखर रुपमा प्रस्तुत गरिएकाले यस पुरस्कारका निम्ति छनौट गरिएको विचार व्यक्त गरे । उक्त कार्यक्रममा डा. डम्बर चेम्जोङले प्रस्तुत गरेको ‘संघीयताको विकासमा बुद्धिजीवी वर्गको भूमिका’ विषयक कार्यपत्रमा पनि छलफल भएको थियो । डा. चेम्जोङले नेपाली भूराजनीतिमा संघीयताको आवश्यकता नभए पनि जबरजस्त लागु गरिएकाले यो असफल बन्दै गएको विचार व्यक्त गरे ।

सङ्घीय मामिला मन्त्री माननीय हृदयेश त्रिपाठीले नेपाली भूगोल र समाजका विविधतालाई समेट्न संघीयता आवश्यक रहेको जिकिर गर्दै यसलाई असफल बनाउन खेल भइरहको तर सङ्घीयता असफल भए संविधान सभाबाट निर्मित नेपालको ऐतिहासिक संविधान नै असफल हुने धारणा प्रस्तुत गरेका थिए ।

उनले साहित्य र राजनीति फरक विषय भए पनि दुवैको केन्द्र समाज भएकाले यी दुई बिचमा परम्पर नजिकको सम्बन्ध रहेको छ भन्ने विचार पनि व्यक्त गरे । विशेष अतिथिको मन्तव्यका मध्यमबाट कुलपति गङ्गाप्रसाद उप्रेतीले शमी साहित्य प्रतिष्ठान नेपाली भाषाको समग्र वाङ्मयको विकासका लागि अग्रसर होस् भन्ने शुभकामना दिएका थिए ।

प्रतिष्ठानका अध्यक्ष साहित्यकार तथा पूर्वमन्त्री प्रदीप नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा डोलिन्द्रप्रसाद शर्माले स्वागत मन्तव्य र उपाध्यक्ष प्रा. डा. देवीप्रसाद गौतमले धन्यवाद ज्ञापन गरेका थिए । बाबा बस्नेतले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा ‘बादलभित्रको घाम’ निबन्ध कृतिमाथि प्रा. डा. कृष्णहरि बरालले प्रकाश पारेका थिए ।



प्रतिक्रिया दिनुहोस्