Logo

कोरोना भाइरसको औषधी केही महिनाभित्रै, खोप अर्को वर्ष



एजेन्सी, २३ फागुन । कोरोना भाइरसविरुद्धको औषधी केही महिनाभित्रै बजारमा पाइने भएको छ । खोप भने सन् २०२१ मा आउने भएको छ ।

विश्वभरका ठूला औषधी कम्पनिहरुले औषधी केही महिनामै आउने बताइसकेका छन् । खोप बनाउन महत्वपूर्ण उपलब्धि हासिल भइसकेको खुलेको छ ।

कोरोना भाइरविरुद्धको औषधी र खोप बनाउन विश्वका ठूलो औषधी कम्पनिहरुबीच प्रतिष्पर्धा नै चलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा यसै हप्ता भएको भेटमा अमेरिकाका ठूला औषधी उत्पादक कम्पनिका कार्यकारी निर्देशकहरुले केही महिनामै कोरोना भाइरसविरुद्धको औषधी बजारमा उपलब्ध गराउने बताए । उनीहरुले खोप अर्को वर्ष आउनेमा ढुक्क हुन ट्रम्पलाई भने । ट्रम्पले पनि तत्काल परिणाम दिन भने ।

औषधी कम्पनिहरुले कोरोना भाइरसविरुद्धको औषधी र खोपका लागि अर्बौ रकम रिसर्चमा खर्च गरिरहेका छन् । तर, कतिपय रोगको औषधी र खोपको विकास राम्ररी हुन नसकेको इतिहास छ । इबोला, जिका जस्ता रोगको औषधी र खोप विकास प्रभावकारी भएन । इबोला अफ्रिकामा फैलिएर धेरै मानिसको मृत्यु भयो । जिकाले दक्षिण अमेरिकामा बढी देखियो र बालबालिका जन्मदै समस्या देखिनथाल्यो । एचआइभीविरुद्धको प्रभावकारी औषधी र खोप अझै बन्न सकेको छैन ।

औषधी र खोपमा लगानी गर्दा जोखिम उत्तिकै छ । सफलता हासिल भएन भने अर्बौं रकम डुब्छ । अर्कोतर्फ, अन्य कम्पनिले पनि त्यसता औषधी र खोप बनाएमा लगानीकर्ता औषधी कम्पनिले अपेक्षित लाभ हासिल गर्न सक्दैनन् ।

अहिले कोरोना भाइरसविरुद्धको औषधी र खोप बनाउन अमेरिका, चीन र भारतका वैज्ञानिक मुख्य प्रतिष्पर्धामा छन् । यी देशहरुका औषधी कम्पनि विश्वकै ठूला र शक्तिशाली मानिन्छन् । चीनले खोप बनाउन महत्वपूर्ण उपलब्धि हासिल भएको खुलाइसकेको छ । चीनले खोपको मान्छेमा परीक्षण शुरु गरेको जनाइसकेको छ ।

भारतले अमेरिकासँग मिलेर खोपको परीक्षण जनावरमा शुरु गरिसकेको छ । अब मान्छेमा परीक्षणको तयारी भइरहेको छ । औषधी र खोप बन्ने हल्ला जति चलेपनि परिणाम हासिल हुनेबारे अझै अन्यौल देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्