Logo

कोरोना भाइरस भित्रिन नदिन बाँकेमा उच्च सतर्कता



राँझा, २४ फागुन  : कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेमा उच्च सतर्कता अपनाईएको छ । विश्वभर फैलिँदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका सबै निकायलाई उच्च सतर्क रहन निर्देशन जारी गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । उनका अनुसार, जिल्लाका सीमा नाका, विमानस्थल, भीडभाड हुने स्थानलाई लक्षित गर्दै सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी भएको छ । कोरोना भाइरसबाट जिल्लावासीलाई बचाउन प्रशासन कार्यालयका कर्मचारीसहित सबै सरकारी निकाय, स्वास्थ्य कार्यालय, स्वास्थ्यकर्मी, अस्पताल, रेडक्रस, प्रहरीलाई सतर्क अवस्थामा रहन निर्देशन जारी गरिसकेको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए ।

‘बाँकेवासीलाई कोरोना भाइरसबाट जोगाउन चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेका छौँ, एक साताअघिनै सबै सरोकारवाला पक्षसँग यसबारेमा छलफल गरी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरिसकेका छौँ ।”, प्रमुख जिल्ला अधिकारी खड्काले भने । कोरोना भाइरस नेपाल भित्रिन नदिन नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकामा परीक्षण कक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण हुँदै आएको छ ।

विमानस्थलमा परीक्षण कक्ष

नेपालगञ्ज विमानस्थलमा कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना गरिएको छ । स्वास्थ्य कार्यालयको समन्वयमा विमानस्थलबाट बाहिरिने र नेपालगञ्ज भित्रिने हवाई यात्रुलाई लक्षित गरी परीक्षण कक्ष स्थापना गरिएको नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताए। विमानस्थल प्रवेशद्वारमा स्थापना गरिएको परीक्षण कक्षमा खटिएका स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ ।

विमानस्थलमा आगमन तथा प्रस्थानमा आउने सबै यात्रुको स्वास्थ्य परीक्षण गरिने नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका प्रमुख ठाकुरको भनाइ थियो । बाँके प्रशासनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मेला महोत्सव, भेला, प्रदर्शनी र भीडभाड नगर्न निर्देशन दिएको छ । कोरोना भाइरसकै कारण नेपालगञ्जको सडकमा गरिने भनिएको सडक खाना महोत्सव स्थगित भएको छ ।कोरोना भाइरसको त्रासकै कारण अहिले सरकारी, गैरसरकारी सङ्घ संस्थाका साथसाथै राजनीतिक पार्टीले समेत धमाधम सार्वजनिक कार्यक्रम रद्द गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्